प्याब्सन र एनप्याब्सनमा ताला



ईश्वरराज ढकाल, काठमाडौं
शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले बुधबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरूले आज बिहीबार शिक्षा विभाग र शिक्षा समन्वय इकाइको कार्यालयमा तालाबन्दी गर्ने जनाएका छन्। भोलि शुक्रबार स्थानीय निकायको कार्यालय अगाडि सिठ्ठी जुलुस गर्ने घोषणा गरेका छन्। बर्सेनि भर्नाकै समयमा आन्दोलन गरेर नाटक गर्ने गरेका यी विद्यार्थी संगठनहरूले यस्तो आन्दोलनबाट अहिलेसम्म कुनै उपलब्धि हासिल गर्न सकेका छैनन्।यद्यपि यो आन्दोलनबाट शुल्क फिर्ता गरेरै छाड्ने कतिपय विद्यार्थी नेताको दाबी छ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला भन्नुहुन्छ– ‘हाम्रो आन्दोलनले प्याब्सन र एनप्याब्सन खारेज गर्नेछ। विद्यालयलाई शुल्कको सेन्टिगेट कायम गराउने संस्थालाई कारबाही गर्नु हाम्रो आन्दोलनको मुख्य उद्देश्य हो।’ गत वर्षको आन्दोलनमा सरकारले शुल्क घटाउने सहमति गरे पनि कसैले कार्यान्वयन नगरेको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको भनाइ छ। तामाङ थप्नुहुन्छ– ‘माग पूरा नभएसम्म आन्दोलन फिर्ता लिँदैनौं।’

उहाँले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भएको भेटमा शुल्क घटाउने विषयमा सरकार गम्भीर रहेको र केही दिन आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्न आग्रह गरेपछि आन्दोलन ढिला घोषणा गरेको स्वीकार्नुभयो।
प्याब्सनका महासचिव राजेन्द्र बानिया भने निजी विद्यालयले शुल्क नबढाएको जिकिर गर्दै वैज्ञानिक शुल्क समायोजनको माग गरेको दाबी गर्नुहुन्छ। करिब ९० प्रतिशत विद्यालयले सरकारले तोकेको भन्दा कम शुल्क लिएर विद्यालय सञ्चालन गरेको उनको तर्क छ। ‘सरकारले हामीले राखेको वैज्ञानिक शुल्कको माग पूरा नगर्दा समस्या जटिल बनेको हो।’ –उनले भने।

यही माग राखी विप्लव निकट अनेरास्ववियुले पनि प्याब्सनका अधिकांश पदाधिकारीको विद्यालयको लेखाशाखामा तालाबन्दी गरेको छ। चित्रबहादुर केसी निकट अनेरास्ववियु छैठौंले प्याब्सनका पदाधिकारीले राजीनामा दिनुपर्ने माग राख्दै प्याब्सनलाई पत्र पठाएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएर शुल्क फिर्ता गर्न माग गरेको छ। काठमाडौं शिक्षा कार्यालयले भने केही विद्यालयमा अनुगमन भएको दाबी गरेको छ। तर, अधिकांश विद्यालयले शुुल्क फिर्ता गर्ने सोच बनाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्