आर्थिक विकासको भरपर्दो आधार



डा. देवीप्रसाद आचार्य

देश अहिले युगीन परिवर्तनको संघारबाट अगाडि बढिरहेको छ। सदियौंदेखि गरिबी र अभावले ग्रस्त नेपाली समाजले राजनीतिक परिवर्तनको यात्रासँगै आर्थिक विकासको अपेक्षा गरेका छन्। हाम्रोजस्तो देशमा कृषि, पशुपालन पर्यटन तथा जडिबुटीको विकास नै आर्थिक समृद्धिको आधार हो। यसका साथै कृषिमा आधारित उद्योगहरूको स्थापना नगरी देश विकास हुन सक्दैन। आर्थिक क्रान्ती सम्भव हुँदैन। प्रजातन्त्रको २८ वर्षको दौरानमा कृषि उत्पादनमा ठूलो ह्रास आएको छ। एउटा पनि नयाँ उद्योगधन्दा खोलिएको छैन। बरू भएका उद्योगहरू बन्द भएका छन्। कृषिमा उत्पादन घट्दो छ। लाखौंको संख्यामा युवा जनशक्ति देशबाहिर छ। प्रत्येक दिन १५ सयको हाराहारीमा युवा विदेशिएको तथ्यांक छ। गाउँ बस्ती युवाविहीन भएका छन्। गाउँमा वृद्ध नागरिक र केटाकेटीहरू मात्र भएको अवस्था छ। गाउँका किसानका खेतबारी बाँझिएका छन्। गोठहरू भत्किएका छन्। विदेशबाट पठाएको पैसाले नुन, तेल चामल किनेर छोराछोरीहरूको गुजारा चलेको छ। यस्तो अवस्थामा गाउँहरू कसरी विकास हुन सक्दछन्?

कुनै पनि देश विकासको लागि दक्ष जनशक्ति अनिवार्य शर्त हो। दक्ष जनशक्ति भनेको निश्चित क्षेत्रमा कार्य गर्न विशिष्ट ज्ञान र सीप भएका नागरिकलाई बुझ्नुपर्दछ। कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू त्यस क्षेत्र वा कार्यका लागि विशिष्ट जनशक्ति हुन्। त्यसो त देश विकासको लागि दक्ष, अर्धदक्ष वा अदक्ष व्यक्तिको पनि त्यत्तिकै भूमिका रहेको हुन्छ। तथापि विशिष्ट कार्यदक्षता भएको जनशक्ति देश विकासको भरपर्दो आधार भएकाले सक्षम जनशक्ति उत्पादनमा राज्यको ध्यान जान जरुरी छ।

हाम्रो देशमा तीव्र राजनीतिक परिवर्तन त भयो तर पनि नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकको छैन। राजनीति र संविधानले मात्र देश विकास हुने होइन। देश विकासको लागि देशमा उपलब्ध हुनसक्ने प्राकृतिक स्रोत र साधनको उपयोग गर्न आवश्यक हुन्छ। राज्यले विकासको मार्गचित्र बनाउँदा प्राथमिकताका आधारमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्दछ। यसो गर्दा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्दछ। नयाँ नेपाल निर्माणका साथै नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका सम्भावनाका क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्तिको खाँचो हुन्छ। नेपाली जनताको त्याग र बलिदानबाट आएको प्रजातन्त्र लोकहितमा उपयोग हुन नसकेको आजको अवस्थामा लोकतन्त्र र विकासलाई सँगसँगै हिँडाउनका लागि राज्यले सक्षम जनशक्ति उत्पादन गर्दै देशमा भएका प्राकृतिक स्रोत र साधनको उचित उपयोग गर्न आवश्यक छ।

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो जस्तो मुलुकमा भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको राजनेता नहुनु दुर्भाग्य हो। राज्यले शिक्षाको माध्यमद्वारा दक्ष जनशक्ति उत्पादन गरेर सक्षम जनशक्तिको माध्यमबाट प्राकृतिक स्रोतसाधनको दोहन गर्नुपर्नेमा राजनीतिलाई देश विकासको आधार मानेकाले मुलुकको हरेक क्षेत्र लथालिंग भएको अवस्था छ। कुनै पनि कार्यसम्पादन गर्नका लागि विशेषज्ञ र विशेषज्ञताको आवश्यकता पर्दछ। यस सन्दर्भमा राज्यले देशमा भएको दक्ष जनशक्तिलाई विकास निर्माणमा उपयोग गर्नुपर्दछ र अवसरको अभावमा बाहिरिइरहेको बौद्धिक पलायनलाई रोक्नुपर्दछ।
राज्यले आप्mना देशका नागरिकहरूलाई शिक्षित र दक्ष नबनाएसम्म कुनै पनि क्षेत्रको विकास सम्भव हुँदैन। देशमा एकतिहाई जनसंख्या अहिले पनि शिक्षाबाट वञ्चित छ। शिक्षितहरूमा पनि पेसागत ज्ञानको अभाव छ। अझै सत्य कुरा त हाम्रो देशमा कृषि र पशुपालनको क्षेत्रमा संलग्न किसानहरूमा कृषिसम्बन्धी शिक्षाको कमी छ। पढेलेखेकाहरूले खेति किसानी वा पशुपालन पेसालाई नअँगालेको अवस्था छ। राज्यले कृषि शिक्षालाई प्राथमिकता दिएको छैन। यसर्थ राज्यले तत्कालीन तथा मध्यकालीन योजनाअन्तर्गत कृषि र पशुपालनको क्षेत्रलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको सीपमा जोडेर शिक्षित जनशक्तिलाई कृषि र पशुपालनको क्षेत्रमा आकर्षण गर्न जरुरी छ। हाम्रो जस्तो मुलुकमा कृषि, पशुपालन, जडिबुटी, पर्यटनका साथै कृषिमा आधारित उद्योगधन्दाहरूको विकासबिना आर्थिक क्रान्ति सम्भव छैन।

विकासमैत्री राज्य र दक्ष जनशक्तिको अभावमा देशको विकास असम्भवको कुरा हो। सिंहदरबारबाट विकासको जतिसूकै ठूला कुरा गरे पनि देशको यथार्थ धरातलमा नगई विकास सम्भव हुँदैन। नेपालमा तत्काल विकासका आधार कृषि, पशुपालन, जल, जंगल, जडिबुटी तथा पर्यटनका क्षेत्र हुन्। त्यसो त भूगर्भमा सुन, चाँदी, हीरा मोति, फलाम, पित्तललगायत पेट्रोलियम पदार्थ छन्। यी स्रोत र साधनको उचित सदुपयोगबिना देश समृद्ध हुन सक्दैन। तथापि तत्कालीन विकासको लागि कृषि, पशुपालन, जडिबुटी र पर्यटन क्षेत्रको विकास नै राज्यको प्राथमिकताको क्षेत्र बन्नुपर्दछ। कृषि तथा पशुपालन क्षेत्र परम्परागत शैलीमा चलेका छन्। हावा, पानी, माटोअनुसारको कृषि प्रणाली लागू हुन सकेको छैन।

कुन माटोमा के फल्दछ?, यसको लागि कस्तो बीउबिजन आवश्यक हुन्छ?, खेती गर्ने विधि तथा मलको प्रयोग गर्नेजस्ता ज्ञानको अभावमा गरिने खेतीले उत्पादन दिन सक्दैन। यसर्थ राज्यले कृषि र पशुपालनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ।
आधुनिक कृषि र पशुपालनको लागि अल्पकालीन योजनाअन्तर्गत हरेक स्थानीय तहमा कृषि तथा पशुसम्बन्धी प्राविधिकको समूह व्यवस्था गरी त्यहाँका कृषकलाई तालिम दिन सकिन्छ। रोजगारी नपाएर अल्मलिएका युवावर्गदेखि परम्परागत शैलीमा खेती गर्दै आएका हरेक उमेर समूहका कृषकलाई स्वरोजगारमा जोड्न सकिन्छ। तत्कालीनरूपमा अनौपचारिक कृषि व्यावसायिक तालिमहरू सञ्चालन गरी कृषिलाई आयआर्जनको माध्यम बनाउनुपर्दछ भने दीर्घकालीन योजनाअन्तर्गत कृषि, पशुपालन, जडिबुटी र पर्यटनलगायत प्राकृतिक स्रोत र साधनहरूको ज्ञान, उपयोग र व्यावसायीकरण गर्नसक्ने प्राविधिक शिक्षालाई विद्यालय तहको पाठ्यक्रम र पाठ्यवस्तुमा समावेश गर्न जरुरी छ।
बेरोजगारी हाम्रो देशको ठूलो समस्या हो। युवाहरू स्वदेशमा रोजगारीका अवसरको अभावले विदेश पलायन हुन बाध्य भएका हुन्। विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मण्यताका कारणले रोजगारीको लागि विदेश जान बाध्य हुनुपरेको छ। स्वदेशमा भएका युवा पनि कोही कूलतमा लागेका छन् त कोही राजनीतिक पार्र्टीका सत्तास्वार्थका साधनको रूपमा प्रयोग भएका छन्। विकासका लागि राजनीतिक स्थिरता एउटा आधारभूत आवश्यकता भएता पनि भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको नेतृत्व पनि त्यत्तिकै आवश्यक हुन्छ। विधिको शासन, भ्रष्टचारमुक्त कर्मचारीतन्त्र, प्राथमिकताका आधारमा विकास निर्माणका योजना बनाएर कार्यान्वयन गर्न सकेमात्र मुलुकले विकासको गति लिन सक्दछ। प्रगति पथमा अगाडि बढ्न सक्दछ। यसर्थ राज्यले खेर गइरहेको युवा शक्तिको जोस, जाँगर, ज्ञान र सीपलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने रणनीति बनाउनु जरुरी छ।

राज्यले ढिला नगरी विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका दक्ष युवालाई स्वदेशमा नै आयआर्जनका बाटा र पाटाहरूको अवसर सुनिश्चित गर्नका लागि कृषि, पशुपालन, जडिबुटी तथा पर्यटन क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गर्ने योजना ल्याउनुपर्दछ। प्रत्येक स्थानीय तहमा त्यहाँका व्यावसायिक किसान तथा युवाका लागि नगदेबाली, तरकारी, फलफूल र पुष्पखेतीलगायत उन्नत जातका गाई, भैंसी, भेंडा, बाख्रा र पंक्षी उत्पादन गर्नका लागि व्यावसायिक तालिम सञ्चालन गर्नुका साथै कृषि तथा पशुपालनको क्षेत्रबाट उत्पादित कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्नु जरुरी छ। यसर्थ दिल्ली र बेइजिङको रेलमार्गलाई काठमाडौंमा जोड्नुभन्दा अगाडि नै उल्लेखित क्षेत्रको विकास गर्न राज्यले बिलम्व नगरोस्।

प्रतिक्रिया दिनुहोस्