लादेनका अंग रक्षक जर्मनीमा भत्ता बुझ्दै



वर्लिन, (एजेन्सी)
कुनै समयमा अल कायदाका नाइके ओसामा विन लादेनलाई बचाउने गरेको आरोप लागेका एक जना ट्युनिसियाली पुरुषले सन् २००७ देखि जर्मनी बसेर प्रतिमहिना १ हजार १ सय ६८ युरो सामाजिक सहयोग भत्ता प्राप्त गर्दै आएको रहस्य खुलेको छ ।

सामी ए नामका ती व्यक्तिबारे घोर दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) बारे व्यापक शोधखोज गरेपछि क्षेत्रीय सरकारले यो खबर सार्वजनिक गरेको हो । गोपनीयताका आधारमा जर्मन सञ्चार माध्यमले ती व्यक्तिको पूरा नाम नखुलाएको बताइएको छ । तर उनले आफ्नो कुनै पनि इस्लामिक लडाकू समूहसँग सम्बन्ध नरहेको बताएका छन् ।

यातना दिइने भयको कारण उनलाई जर्मनी सरकारले ट्युनिसियासमक्ष सुपुर्दगी पनि गरेको छैन । अन्तर्राष्ट्रिय लडाकू सञ्जाल अल कायदा सञ्चालन गर्दै आएका लादेनको निर्देशनमा सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकाका विभिन्न स्थानमा विमानबाट गरिएको आत्मघाती आक्रमणमा परेर हजारौं व्यक्तिले ज्यान गुमाएका थिए । अमेरिकी विशेष फौजको कारबाहीको दौरान सन् २०११ मा लादेनलाई पाकिस्तानमा मारिएको थियो ।

सन् २००५ मा जर्मन प्रतिआतंक मुद्दाको सुनुवाइका क्रममा प्रत्याक्षदर्शीहरुले सामी एले सन् २००० मा महिनौंसम्म अफिगानिस्तानमा ओसामा विन लादेनका थुप्रै अंगरक्षकमध्ये एकको भूमिका निभाएका थिए । तर यो कुरा उनले अस्वीकार गरे पनि डस्सलडोर्फस्थित न्यायाधीशहरूले साक्षीको बयानलाई पत्याएका छन् । सन् २००६ मा अल कायदासँगको आबद्धतालाई लिएर उनीमाथि अनुसन्धान गरिएको थियो ।

तर उनलाई अभियोग भने लगाइएन । सामी आफ्नी जर्मन पत्नी र चार सन्तानसहित पश्चिमी जर्मनीको बोछुममा बस्दै आएका छन् । सन् १९९९ अस्थायी बसोबास अनुमति प्राप्त गरी जर्मनी प्रवेश गरेका थिए । थुप्रै प्राविधिक शिक्षा हासिल गरेर उनी सन् २००५ मा सो शहरमा पुगेका थिए । सन् २००७ मा उनले राजनीतिक शरणका लागि दिएको निवेदन जर्मन सरकारले उनलाई सुरक्षा खतराको सूचीमा राखिएको भन्दै अस्वीकार गरेको थियो । उनी दिनहुँ प्रहरी चौकीमा हाजिर हुनुपथ्र्यो । जर्मन सरकारका अनुसार उत्तर अफ्रिकी राष्ट्र ट्युनिसियामा आशंकित लडाकूहरूलाई नराम्ररी यातना दिइने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्