चौथो चरणमा बद्रीलाल पराजित



काठमाडौं, (नेस)
काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिताको चौथो चरणमा नेपाली खेलाडी बद्रीलाल नेपालीले पराजय बेहोरेका छन्। शनिबार तेस्रो चरणमा आफूभन्दा उच्च वरियता प्राप्त रोमानियाकी इन्टरनेसनल मास्टर एलिना लामीलाई हराएका बद्रीले चौथो चरणमा जितको निरन्तरता दिन सकेनन्। उनी भारतका इन्टरनेसनल मास्टर हर्ष भारताकोटीसँग पराजित भएका हुन्। योसँगै उनको ३ अंक भएको छ।

यस्तै तेस्रो चरणमा पराजित भएका नेपाली खेलाडी रूपेश जयसवाल र मनिष हमालले चौथो चरणमा जित हात पारेका छन्। चौथो चरणमा रूपेशले भारतका शुभम् शुक्लालाई हराए भने फिडेमास्टर मनिषले नेपालकै भगवतीप्रसाद शर्मालाई पराजित गरे।

यसै गरी चौथो चरणसम्म आइपुग्दा इजरेलका ग्रिनफिल्ड एलनले चार अंकका साथ आफ्नो अपराजित यात्रा कायमै राखेका छन्। तेस्रो चरणमा नेपाली खेलाडी रूपेश जयसवाललाई हराएका एलनले चौथो चरणमा भारतका निरन्जन नाभलगुन्डलाई हराए। अजरबैजानका ग्रान्डमास्टर कास्पारोभ सेर्गीले चौथो चरणमा भारतका अंकित गाज्वालाई हराएर चार अंक बनाएका छन्।

मंगलबारसम्म चल्ने प्रतियोगितामा ११ ग्रान्डमास्टरसहित १६६ खेलाडीको सहभागिता छ। १० लाख कुल पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष २० स्थानसम्मकाले नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्