फाइटर्सले जित्यो मारवाडी क्रिकेटको उपाधि



काठमाडौं, (नेस)
फाइटर्सले टिपटप मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा फाइटर्सले टिपटप ११ लाई ८ रनले हराएर उपाधि हात पारेको हो। विजेता टोलीले ट्रफीसँगै १ लाख ५१ हजार तथा उपविजेता टोलीले ८१ हजार नगद प्राप्त गरे। प्रतियोगितामा फाइटर्सका अंकित गर्ग म्यान अफ द सिरिज बने भने बेस्ट ब्याटसम्यान र बेस्ट बलर क्रमशः हाम्रो किचन प्यान्थर्सका सुभम अग्रवाल र टिपटपका सुमित शर्मा घोषित भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको फाइटर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। टोलीका लागि ओपनर अनिल गर्गले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५३ बलमा ४ छक्का प्रहार गरेका थिए। त्यस्तै मध्यक्रमका ब्याटसम्यान विवेक रानामगरले २७ रन, राहुल बंसलले २६ रन र कृष्ण केडियाले ८ बलमै २२ रन जोडेर टोलीलाई बलियो स्कोरतिर अग्रसर गराएका थिए।

जवाफमा टिपटपले २० ओभरसम्म खेलेर ७ विकेट बाँकी हुँदाको लाभ उठाउन नसक्दा उपाधिबाट विमुख भयो। टोली ३ विकेटको नोक्सानी बेहोरेर १ सय ६६ रनमा रोकिएको थियो। टोलीका लागि ओपनर कप्तान अमोल शर्माले ५३ रनको योगदान दिए। तर आसु कण्डोलको नटआउट ५२ रन पनि जितको लागि पर्याप्त हुन सकेन।

प्रतिक्रिया दिनुहोस्