दुर्गमका बालबालिकाहरुका लागि १० लाखको अक्षयकोष



मोतीराम तिमल्सिना, काभ्रे ।
नेपालबाट रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुको दुखमा साथ दिन गठन भएको काभ्रे सेवा समाज साउदी अरबको तर्फबाट नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते १० लाख रुपैयाको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।

शैक्षिक क्षेत्रलाई लक्ष्य बनाई दुर्गम क्षेत्र, जेहेन्दार विद्यार्थी, गरिवीको कारणबाट शैक्षिक विकासमा बाधा पर्न गएको परिस्थितीमा उक्त संस्था मार्फत सहयोग गर्ने उदेश्यले छात्रवृत्तिका लागि पहिलो चरणमा १० लाखको अक्षय कोषको स्थापना गर्न लागिएको अध्यक्ष जेनकुमार लामाले बताए ।

काभ्रे सेवा समाज साउदी अरवको प्रथम बार्षिक उत्सव, शैक्षिक विकासको लागि अक्षयकोष स्थापना लगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जेनकुमारले काभ्रे विकास गरौ सबै मिली एकजुट हौ साउदी अरवमा काभ्रेली भन्ने अभियानका साथ खुत्रुके बचतबाट कोषको शुरुवात गरिएको बताए ।

‘साउदी अरवमा विभिन्न क्षेत्रमा कार्यरत काभ्रेली र नेपालीहरुबाट जम्मा भएको रकमले उक्त कोष संक्लन भएको हो’–अध्यक्ष जेनकुमारले भने–‘सरकारको भर्ना अभियान लक्ष्य र हरेक बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउन यो कोष महत्वपूर्ण मानिएको छ ।’ कोषलाई विस्तारै बृद्धी गर्दै लैजाने तयारी रहेको द्धतिय उपाध्यक्ष रामप्रसाद सापकोटाले बताए ।

संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले कोषको उद्घाटन गर्नेछन् । छात्रवृत्ति कोषसँगै जिल्लामा रहेका सामुदायिक विद्यालयहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, पोशाक, फर्निचर, छात्रवृत्ति उपलब्ध लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

स्थापनाको तीन वर्षको बीचमा अलपत्र अवस्थामा रहेका २३ नेपालीहरुलाई सकुशल फिर्ता पठाईएको अध्यक्ष लामाले बताए । काभ्रे जिल्ला घर भएकी मञ्जु मैनालीलाई हवाई टिकट उपलब्ध गराई फिर्ता पठाएको उनले बताए ।

अबैद्य रुपमा विभिन्न कम्पनी मार्फत साउदी अरव पुगी अलपत्र अवस्थामा परेका नेपालीहरु काभ्रे सेवा समाज साउदी अरबको संरक्षणमा पुग्ने गरेका छन् । दुबई स्थित मृगौला विरामी देवराम श्रेष्ठलाई सल्लाहकार द्धारिकाराज गिरी र प्रथम उपाध्यक्ष रमेश भण्डारी मार्फत २३ सय रियाल उपलब्ध गराएको, बाढी पीीडतका लागि ७ सय ५० रियाल, धुमुर्स सुन्तली फाउण्डेशनका लागि ५५ हनार ५ सय ५५ लगायतको सहयोग उपलब्ध गराएको छ ।

आम माफीमा परेकाहरुलाई एक महिनासम्म बसेर नेपालसम्म पुग्ने रकम र खान बस्नको ब्यवस्था गराएको, महेन्द्र मावी बनेपामा २ लाख ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण, जागृत आधारभुत विद्यालयलाई ५ लाख २० हजार बराबरको कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्