पर्यटकको चहलपहल बढ्दै



प्रताप बानियाँ, म्याग्दी
बसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ। चालू वर्षको जाडो समय सकिएलगत्तै गर्मीयाम शुरू भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरू भएको हो।

पर्यटन समय शुरू भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ। म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटक अधिकांश सडकमार्ग भएर आउने गरेका छन्। जिल्लामा पर्वतको मालढुंगा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भुरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत् सिधंै हवाईमार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन् भने मुस्ताङबाट समेत पर्यटक जिल्ला भित्रिने गरेका छन्। जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकको तथ्यांक प्रहरीसँग रहे पनि आन्तरिक पर्यटक कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थाले राख्न सकेका छैनन्।

बेनीका होटल व्यवसायीका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने भए पनि आधिकारिक तथ्यांक कसैसँग छैन। विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एन्ड रेष्टुरेन्टका सञ्चालक बाबुराम आचार्यले बताउनुभयो। पर्यटकीय सिजन शुरू भइसक्दा पनि सीमित मात्रामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू आएको बताउँदै उहाँले जिल्लामा पर्यटक भिœयाउनका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटकहरू आउने गरेका छन्। हालै मात्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका कारण दैनिक ८ घण्टासम्म सडक बन्द हुने भएकाले पनि पर्यटकको आगमन कम भएको होटल व्यवसायी आचार्यको भनाइ छ।

आचार्यका अनुसार प्रायः पर्यटक एक दिनभन्दा बढी नबस्ने र अधिकांश पर्यटकले मुस्ताङको जोमसोम, मुक्तिनाथ र कोरला भ्रमणलाई प्राथमिकता दिने गरेका छन्। यातायात व्यवसायीले जुनसुकै समयमा पनि पर्यटक बोकेर हिँड्ने भएकाले पनि पर्यटकको म्याग्दी बसाई लम्ब्याउन नसकिएको होटल व्यवसायीहरूले गुनासो गरेका छन्।

जिल्लामा भित्रिने पर्यटकको सुरक्षा तथा उनीहरूलाई समस्या परेको खण्डमा तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो। पर्यटकीय हिसाबले म्याग्दी जिल्ला सुरक्षित र पर्यटनमैत्री रहेको बताउँदै उहाँले आगामी दिनमा पर्यटनमैत्री संरचना तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो।

चालू आर्थिक वर्षको फागुनसम्म जिल्लामा कुल २६ हजार ५१८ जना पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार पुरुष १३ हजार ९७६ र महिला १२ हजार ५४२ जना पर्यटकले जिल्लाको भ्रमण गरेका छन्। गतवर्ष कुल ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विदेशी पर्यटकहरूले भ्रमण गरेका हुन्। म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटक घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउन्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा, धौलागिरी बेसक्याम्प तथा धौलागिरी–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्