चर्चामा आएको ३० वर्षपछि मेलम्चीको सुरुङ ब्रेक थ्रु पानी आउन अझै चार महिना लाग्ने



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको मेलम्ची खानेपानी आयोजनाको शुरूङ खन्ने काम सकिएको छ। चर्चामा आएको करिब ३० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको अन्तिम शुरूङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ‘ब्रेक थु्र’ भएको हो।

सोमबार खानेपानी तथा सरसफाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बिना मगरले उक्त आयोजनाको २७ किलोमिटर शुरूङ छिचोलिएको बताउनुभयो। सन् २०१० को जुन महिनादेखि खन्न थालिएको उक्त शुरूङको दुईवटा खण्ड भने यसअघि नै ब्रेक थु्र भइसकेको छ। मन्त्री मगरका अनुसार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दशैंअघि नै उपत्यकाबासीले उपयोग गर्न पाउनेछन्।

आयोजनामा कहिले स्थानीयको अवरोध र कहिले ठेकेदारले काम नगर्दा आयोजनामा उल्लेख्य प्रगति हुन नसकेको मन्त्री मगरको भनाइ छ।
मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाका अनुसार शुरूङ खन्न थालेको सात वर्षपछि सोमबार रातीे ब्रेक थ्रु भएको हो। शुरूङ निर्माणकार्य सकिए पनि आयोजनाबाट काठमाडौंमा पानी आउन भने अझै केही समय लाग्ने देखिएको छ। बे्रक थु्रको काम सकिए पनि शुरूङको मर्मत तथा प्लास्टरको काम बाँकी रहेकाले त्यसका लागि अझै केही समय लाग्ने निर्देशक देवकोटाको भनाइ छ।

तीन चरणमा गरिएको शुरूङ निर्माणको काममा सुन्दरीजल सिन्धु र ग्याल्थुम खण्डको यसअघि नै निर्माण कार्य सम्पन्न भइसकेको छ। शुरूङको ढलान तथा मर्मतको कामलाई तीव्रता दिएर जतिसक्दो चाँडो छिट्टै काठमाडौंमा पानी आफुहरू लागिपरेका उहाँले बताउनुभयो। एसियाली विकास बैंकको ८ अर्ब ७४ करोड रुपियाँ ऋण रकमबाट आयोजनामा लगानी गरिएको छ। आयोजनाबाट प्राप्त हुने पानीले उपत्यकामा रहेको समस्यालाई समाधानमा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालको निर्वाचनको क्रममा मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने भन्दै भोट मागेका थिए। उनले २०५६ सालमा पुनः प्रधानमन्त्री हुँदा समेत सो आयोजनाको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्