उत्तर कोरिया आणविक वार्ताका लागि तयार



प्योङयाङ, (एजेन्सी)
उत्तर कोरियाले आफ्नो र संयुक्त राज्य अमेरिकाका २ नेताबीचको वार्ताको दौरान आफ्नो विवादस्पद आणविक हातहतियारको भविष्य बारे छलफल गर्न तयार रहेको सोमबार प्रतिबद्धता जाहेर गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको नाम नखुलाइएको सूत्रले उक्त ऐतिहासिक भेटवार्ताको तयारीमा गोप्य र प्रत्यक्ष वार्ताको व्यवस्था गरिएको जानकारी दिएको छ।

यस सम्बन्धमा अमेरिका र उत्तर कोरियाका गुप्तचर अधिकारीहरूबीच तेस्रो राष्ट्रमा धेरैपटक बैठक भइसकेको बताइएको छ। ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको यो अप्रत्यासित बैठक आगामी मे महिनामा हुने बताइएको छ।

उत्तर कोरियाले यसअघि नै दक्षिण कोरियालाई आफू निशस्त्रीकरणको विषयलाई सम्बोधन गर्न तयार रहेको बताइसकेको छ। तर वासिंगटनसँग यसरी यस विषयमा उत्तरले मुख खोलेको भने पहिलोपटक भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्।

तर अझैसम्म पनि उत्तर कोरिया र अमेरिकाबीचको वार्ताको तिथि र स्थान भने तय भइसकेको छैन। जेहोस किम र ट्रम्पबीचको वार्ताको प्रस्ताव सुनेर अन्तर्राष्ट्रिय जगत नै आश्चर्यमा परेको छ।

प्रतिक्रिया दिनुहोस्