संघ र प्रदेशका श्रम समस्याबारे छलफल



नेपाल समाचारपत्र
काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरूसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीलाई कसरी प्रभावकारी र समन्वयात्मक रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सोमबार छलफल भएको छ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध विभागीय प्रमुखको समेत सहभागिता रहेको छलफलमा रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न क्रस कटिङ इस्युलाई समन्वयात्मक रूपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिइएको थियो।

कार्यक्रममा मन्त्री विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताउनुभयो।

यसैगरी संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्नेमा मन्त्री विष्टले जोड दिनुभयो। उहाँले आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवम् व्यावसायिक र सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरूप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवम् बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि बढ्नुपर्ने कुरामा समेत मन्त्री विष्टले जोड दिनुभयो।
त्यस क्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतीबारे अवगत गराउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्