कृषि आधुनिकिकरणः गोरु बेचेर यान्त्रिक हालोतर्फ आकर्षित किसान



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतका कृषक यान्त्रिक हलोतर्फ आकर्षित बन्न थालेका छन् । गोरु पालेर परम्परागत तरिकाले खेती गर्नुभन्दा यान्त्रिक हलो प्रयोगले लागत घटाउने भएपछि कृषकको आकर्षण आधुनिक औजार उपयोगमा बढेको हो ।

जिल्ला कृषि विकास कार्यालय पर्वतको तथ्यांकअनुसार अहिले जिल्लाभर करिब चार सय यान्त्रिक हलो सञ्चालनमा छन  । जिल्ला कृषि विकास कार्यालयबाट मात्रै हालसम्म ३ सय भन्दा बढि यान्त्रिक हलो वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । ‘साढे दुई सय भन्दा बढि हामीले मात्रै बाड्यौं,’ उनले भने, ‘सांसद विकास कोष र पछिल्लो समय स्थानीय तहहरुले पनि बाँडेका छन  ।

कतिपय किसान आफैंले किनेर समेत चलाउन थालेका छन् ।’ कार्यालयले शुरुमा २०६९ मा चुवामा यान्त्रिक हलो वितरण गरेको थियो । त्यस यता पर्वतका समथर फाँटदेखि भिरालो जमिनमा समेत यान्त्रिक हलोको प्रयोग क्रमशः बढ्दै गएको हो । समथर जग्गामा ट्रयाक्टरको प्रयोगले खेत जोत्ने किसान पनि पछिल्लो समय मिनी पावरटिलरतर्फ आकर्षित हुन थालेका हुन  ।

एउटा यान्त्रिक हलोले ५ घण्टामा ७ देखि ८ रोपनीसम्म जोत्न सक्छ । परिवारमा खेतीमा खट्नसक्ने जनशक्ति नहुने परिवारले पनि बाँझिएको जमिनमा खेती गर्न सहज हुने किसान बताउँछन । ‘एक हल गोरु र हलीले दिनभरमा मुस्किलले १ रोपनी जोत्छ, बरिष्ठ कृषि विकास अधिकृत रेगमीले भने ‘यो हलोले अढाइ घण्टामा ४ रोपनी जोत्न सकिन्छ ।’ ४ रोपनी खेत जोत्दा २ लिटर डिजेल खर्च हुने उनले बताए । व्यावसायिक तरकारी खेती लगाउने र धेरै जमिन हुने किसानले यस्तो हलो बढी माग गर्न थालेका छन । एउटा हलोले ५ वर्षसम्म मर्मत नगरी लगातार जोत्न मिल्ने भएपछि गोरुको तुलनामा यो निकै सस्तो र किफायती हुने किसान र प्राविधिकहरुको भनाई रहेको छ ।

थोरै जग्गाजमिन हुनेहरुले सामुहिक रुपमा यस्तो हलो खरिद गरी खेती गर्दा पनि मासिक ४०र४५ हजार कमाउन सकिन्छ,’ वरिष्ठ कृषि अधिकृत रेग्मीले भने, ‘हामीले त्यस्ता युवालाई प्रोत्साहन गर्दै ५० प्रतिशत अनुदानमा दिन्छौं ।’ यान्त्रिक हलोको उपयोगले खेती गर्दा लगानी, श्रम र समयको बचत भए पनि मर्मतमा भने समस्या हुन थालेको छ । पावरटिलर बिग्रिँदा मर्मत गर्न र त्यसका पाटपुर्जा बजारमा सहजै नपाइने किसानको गुनासो छ ।
एकैपटकमा धेरै लगानी गरी हलो किनेका केही किसान पाटपुर्जा सजिलै नपाएर निराश बनेका छन् । पछिल्लो समय स्थानीय तहहरुले पनि यान्त्रिक हलो बितरण गर्न थालेका छन् । मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा ७० वटा हलो वितरण गरेको छ भने कुश्मा नगरपालिकाका विभिन्न वडामा पनि झण्डै ३० भन्दा बढि यान्त्रिक हलो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कृषि प्राविधिक सहायकको नोकरीबाट अवकास लिएका फलेबास ६, देवीस्थानका चेतनाथ शर्माले गत वर्ष सम्म हलगोरु पालेको भएपनि अहिले गोरु बेचेर यान्त्रिक हलो किनेको जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले ५० प्रतिशत अनुदानमा हलो वितरण गरेपछि उनले हलगोरु बेचेको बताए । एउटा यान्त्रिक हलोको मुल्य ७५ हजार पर्ने भएपनि ५० प्रतिशत अनुदानका कारण ३७ हजार पाँच सयमा किनेका हुन् । हलगोरु र खेताला खोजेर खेती गर्दा लगानी उठाउनै मुस्किल हुने समय आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्