अमेरिका–चीन व्यापार युद्ध आफ्नो हितका लागि जुनसुकै मूल्य चुकाउन तयारः चीन



बेइजिङ⁄वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप १ खर्ब डलरको कर लगाउने चेतावनीको जवाफमा चीनको वाणिज्य मन्त्रालयले आफ्नो हितको रक्षा गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको जनाएको छ।
यसअघि पनि अमेरिकाले चिनियाँ उत्पादहरूको आयातमा ६० अर्ब डलरको कर लगाएको थियो। अमेरिकाको उक्त कदमको बदलामा चीनले पनि अमेरिकी केही सामानमा ३ अर्ब डलरको कर लगाएको थियो।

हालैका दिनमा दुई देशबीच व्यापारिक खिचातानीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिरता छाएको छ। राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा थप १ खर्बको शुल्क लगाउने विषयमा योजना बनाउन आफ्ना कर्मचारीलाई निर्देशन दिएको बताइएको छ। चीनले १ सय ६ महत्त्वपूर्ण अमेरिकी उत्पादनमा शुल्क लगाएपछि ट्रम्प सरकारले उक्त कदम चालेको हो।

ट्रम्पको उक्त घोषणामा चीनको विदेश मन्त्री वाङ यीले प्रतिक्रियामा भने– ‘चीन र अमेरिका विश्वका दुई शक्तिशाली देश हुन्, उनीहरूले एक अर्कोसँग बराबरी र सम्मानपूर्वक व्यवहार गर्नुपर्छ।’

त्यसैगरी वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेंगले भने– ‘हामीलाई झगडा गर्न मन छैन, तर हामी व्यापार युद्धसँग डराउँदैनौं।’ यदि अमेरिका चीन र अन्तर्राष्ट्रिय विरोधलाई बेवास्ता गर्छ र आफ्नो एकतर्फी संरक्षणवादी कदममा अडिग रहन्छ भने चीन पनि यसका लागि कुनै पनि मूल्य चुकाउन तयार रहेको उनले बताए।
विज्ञहरूले सम्पूर्ण विश्वको अर्थव्यवस्था र बजारमा व्यापार युद्धको खतरा मडारिएने चेतावनी दिएका छन्। दुई देशबीच गोप्य वार्ता भइरहेको तर सम्झौता हुन कठिन भएको उनीहरूले बताए।

राजनीतिकरूपमा ट्रम्पको फैसलालाई लिएर उनकै पार्टीका केही सदस्यहरूले विरोध गरिरहेका छन्। अमेरिकाको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनी वालमार्ट र टारगेटले पनि ट्रम्पसँग उनको फैसलामा पुनः विचार गर्न आग्रह गर्दै यसले वस्तुको मूल्य र अमेरिकी परिवारमा असर पार्न सक्ने जनाएको छ। बिहीबार रिपब्लिकन पार्टीका सांसद बेन सेसेले ट्रम्पको फैसलालाई ‘वाहियात’ भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्