काठमाडौं इन्टरनेसनल ग्रान्डमास्टर चेस हुने, १० लाख रुपियाँ नगद पुरस्कार



काठमाडौं, (नेस)
नेपालमा खेलकुदको व्यवसायीकरण गर्ने उद्देश्यका साथ होमल्यान्ड स्पोर्टस क्लब नेपालले काठमाडौं ओपन इन्टरनेसनल ग्रान्डमास्टर चेस प्रतियोगिता आयोजना गर्ने भएको छ।

बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजककातर्फबाट बोल्दै केन्साइ नेरोल्याक कलर जापानका नेपाल प्रमुख मनोजकुमार मिश्रले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रायोजकका रूपमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे। केन्साइ नेरोल्याक कलर जापानलगायत २० भन्दा बढी स्वदेशी कम्पनी प्रायोजक रहने पत्रकार सम्मेलनमा जनाएको छ।

हिजै होमल्ययान्ड स्पोर्टस क्लबका अध्यक्ष प्रकाश अधिकारी र मुख्य प्रायोजककातर्फबाट केन्साइ नेरोल्याक कलर जापानका नेपाल प्रमुख मनोजकुमार मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताअनुसार अब ३ वर्षसम्म यो अन्तर्राष्ट्रिय प्रतियोगितालाई केन्साइ नेरोल्याक कलर जापानले प्रायोजन गर्नेछ। केन्साइ नेरोल्याकले वर्षमा २२ लाख दिइनेछ।

कुल १० लाख रुपियाँ नगद पुरस्कार रहने उक्त प्रतियोगिता नेपालमा ठूलै चेस प्रतियोगिता मानिएको छ। प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, स्पेन, रसिया, इजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी १ सय जना विदेशी खेलाडीको सहभागिता हुनेछ। त्यस्तै नेपालबाट ८० जनाले सहभागिता जनाउने भएपछि प्रतियोगितामा १ सय ८० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। स्विस लिगअनुसार ९ चरणसम्म चल्ने प्रतियोगितामा १२ जना ग्रान्डमास्टर, १४ जना इन्टरनेसनल मास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेट मास्टरको सहभागिता टुंगो लागिसकेको जनाएको छ। प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्वराष्ट्रिय च्यापियनहरू एवं ओलम्पियाड खेलाडीलगायत प्रायः सबै शीर्ष खेलाडीको मात्र सहभागिता रहने जनाइएको छ।

प्रतियोगिता आयोजनाका निमित्त नेपाल बुद्धिचाल संघ, एसियन चेस फेडेरेसन तथा वल्र्ड चेस फेडेरेसनसँग आवश्यक प्रक्रिया सम्पन्न भइसकेको आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिता सञ्चालन गर्न नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तर्राष्ट्रिय आर्विटर (निर्णायक) हरू निम्ताइएका नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिएका छन्।

यस्तै, नेपाल पर्यटन बोर्डको तर्फबाट विनाशकारी भूकम्पपश्चात नेपालमा ठूला प्रतियोगिताहरू नभइरहेको सन्दर्भमा नेपाल सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको बताउँदै यस किसिमको प्रतियोगितामार्फत नेपालको समग्र पर्यटन प्रवद्र्धनमा विश्व समुदायमाझ सकारात्मक उर्जा प्रवाह हुने विश्वास व्याक्त गरेको छ। विशेषतः भूकम्पको विध्वंशात्मक स्वरूप मात्र संप्रेषित भइरहेको विश्व पर्यटन बजारमा यस प्रतियोगितात्मक उत्सवले सकारात्मक संदेश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ।

यस सम्पन्न गर्नको लागत रकम ७८ लाख रुपियाँ हुने अनुमान गरिएको छ। प्रतियोगिता यही चैत्र २९ गतेबाट वैशाख ४ गतेसम्म काठमाडांको बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा प्रतियोगिता आयोजना गरिनेछ। अन्तर्राष्ट्रिय महोत्सवको यस प्रतियोगिताले स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी, पर्यटन व्यवसायी एवम् समस्त नेपालीहरूमा उच्च आत्मसम्मान तथा गौरवको महशुस् हुने प्रेस विज्ञप्तिमा जनाएको छ।‘देशको समृद्धिः खेलमार्फत सिर्जनशीलता र स्फूर्ति’ भन्ने लक्ष्य रहेको उक्त कार्यक्रमलाई उत्सवका रूपमा प्रस्तुत गर्न पनि सबैसँग आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्