ब्राह्मणका घरमा ‘बिटुली’ !



रोहिणी घिमिरे
सत्य घटनामा आधारित ‘बिटुली’ नामको उपन्यास हालै बजारमा आएको छ। साथीले सुनाएको सत्य घटनालाई आधार मानेर उपन्यासकार डा. डीआर उपाध्यायले यो उपन्यास तयार गरेका हुन्। प्रेम र रोमान्सले भरिएको यो उपन्यास समाज सुधारमा समेत सहयोगी देखिन्छ।

यस उपन्यासका पात्र क्षितिज र ज्योत्सना कलेजका सहपाठी हुन्छन्। काठमाडौंवासी ब्राह्मण समुदायका उनीहरू पहिलो भेटदेखि नै प्रेमपासमा बाँधिन्छन्। दुवै पक्षका अभिभावक क्षितिज र ज्योत्सनाको सम्बन्ध गाँसिदिन हतारिन्छन्। तर पढाइ सक्नासाथ बुबा महेश्वर खनाल कन्स्ट्रक्सनको जिम्मेवारी दिएर क्षितिजलाई चौरजहारीमा पठाउन बाध्य हुन्छन्। महेश्वरकै घरमा सानैदेखि आश्रय लिएर पढेको दिवाकर शर्मा पनि लोक सेवाबाट नाम निकाली चौरजहारीकै सिंचाइ विभागको प्रमुख भएर गइसकेको हुन्छ। त्यसैले क्षितिज र दिवाकर सिंचाइ कार्यालयकै क्वाटरमा सँगै बस्छन्।

त्यहाँ दिवाकरले नै मिलाइदिएको कन्स्ट्रक्सनको काम भइरहेको हुन्छ। एकदिन क्षितिज खोलामा नुहाउन जाँदा वादी समुदायकी १६ वर्ष टेकेकी किशोरी जुनेलीमा उसको मन अल्झन पुग्छ। जनै लगाएको क्षितिज, कथित पानी अचल जुनेली, तर पनि उनीहरूको सामीप्यता बढ्छ।

जुनेली र क्षितिजका क्रियाकलाप अनि उनीहरू सम्हालिन नसकेका कथनहरू बडो रोचक छन्। आखिर दिदी ताराले ढोका ढकढक्याउँदा जुनेली स्वप्नाबाट बिउँझिई भन्ने वाक्यांशले पो जुनेलीले स्वप्ना देखेकी रहिछ भन्ने पाठकलाई लाग्छ। यतिखेर पाठकलाई पनि स्वप्नाबाट बिउँझिएजस्तो लाग्छ। यसले लेखक डा. उपाध्याय उपन्यास लेख्न माहिर छन् भन्ने दर्शाउँछ।

यता बुबाआमा अनि ज्योत्सना र उनका परिवारलाई क्षितिजको क्रियाकलापबारे पत्तै हुँदैन। क्षितिज र जुनेली एकदिन भागेर मन्दिरमा जान्छन् र बिहे गर्छन्। बेलुका भने उनीहरू आ–आफ्नै घरकोठामा जान्छन्। रातै पहिरनमा घर पुगेकी जुनेलीले केही सामान र पैसा दिँदै सबै कुरा परिवारमा बताउँछे। यता क्षितिजले पनि साथी दिवाकरलाई बताउँछ। जुनेलीका परिवार सहमत हुन्छन् भने उता दिवाकरलाई चाहिँ अब जुनेलीलाई कसरी छुटाउने भन्ने चिन्ता पर्छ। दिवाकर भन्छ– ‘क्षितिज, तिमी यहाँ बसुन्जेल जुनेलीसँग गोप्यरुपमा मोजमस्ती गर तर उसलाई घरमा लान कुनै हालतमा मनासिब हुँदैन।’

भोलिपल्ट जुनेलीका दिदीबहिनी नै आउँछन्। दिदी दिवाकरसँग सुत्छे भने बहिनी क्षितिजसँग सुत्छे। आफ्नो पेसा नै त्यही भएकाले पहिले पनि दिदी दिवाकरसँग सुतिसकेकी हुन्छे तर चोखी जुनेली क्षितिजसँग पहिलोपटक सुत्दै छ। यहाँ उनीहरूको कुराकानी र भूमिका दर्शाउन लेखक उपाध्याय निकै सफल देखिन्छन्। भोलिपल्ट दिदीबहिनी नै घर जान्छन्। जुनेलीलाई दिदीकै जस्तो पेसामा लगाउन अनेक प्रयास हुन्छ तर सफल हुँदैन।

यता क्षितिजको घरबाट फोन आउँछ। दिवाकरसहित क्षितिजलाई भोलि नै घरमा आउन दबाब पर्छ। उनीहरू जुनेलीलाई छोडेर काठमाडौं उड्न बाध्य हुन्छन्। जुनेलीले विमानलाई हेरेर बाइबाई गर्नुको विकल्प हुँदैन। घरमा थाहा पाऊलान् भनेर दुवैजना सतर्क हुन्छन्। तर जब आमाले क्षितिज र ज्योत्सनाबीच चाँडो विवाह गर्नुपर्ने कुरा राख्छिन्, दिवाकर र क्षितिज छटपटिन्छन्। त्यसपछि उनीहरू निहुँ बनाएर भोलिपल्टै चोरजहारी फर्किन्छन्।

विमान चढ्नुअघि क्षितिजले ज्योत्सनालाई खुसुक्क एउटा खाम दिँदै यो घर नपुगी नखोल्नु है भन्छ। त्यसमा आफूले चौरजहारीमा बिहे गरिसकेकाले तिमीले दुवैतर्फका बुबाआमालाई यो कुरा थाहा नदिईकन बिस्तारै मबाट टाढा हुने कोशिश गर भन्ने व्योहोरा लेखिएको हुन्छ। आखिर ज्योत्सनाले मन बाँधेर त्यसै गर्न बाध्य हुन्छे। पछि ऊ अस्ट्रेलिया गएर उतै बिहे गर्छे। पछि दिवाकर र क्षितिजले एक–एकवटा छोरासहित जुनेलीका दिदीबहिनीलाई काठमाडौंको घरमा भित्र्याउँछन्। उपन्यासको सारांश यही हो।

उपन्यास पठनीय बनाउन लेखक डा. उपाध्याय निकै खप्पिस देखिन्छन्। एसिया बुक डिस्ट्रिब्युटर्सले प्रकाशन गरेको यो उपन्यासले समाजमा जरो गाडेर बसेको जातीय छुवाछुत न्यूनीकरण गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने देखिन्छ। यसलाई चलचित्रको कथा बनाउँदा पाठकले मन पराउँछन् भन्ने मलाई लाग्छ। समाज सुधारका लागि लेखक डा. उपाध्यायले गरेको यो प्रयास प्रशंसनीय छ।

प्रतिक्रिया दिनुहोस्