म्याक्सको दुई गोलमा आर्मी स्तब्ध



नेपाल समाचारपत्र
बुटवल
मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

रामनगरस्थित मानवज्ञान माविको मैदानमा सोमबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै आयोजकले अन्तिम ४ मा स्थान पक्का गरेको हो। खेलको १४औं मिनेटमा विवेक बस्नेतको गोलमार्फत अग्रता लिएको आर्मीले दोस्रो हाफमा जम्न नसक्दा बाई पाएर सीधै क्वार्टरफाइनल खेले पनि बाहिरिनुपर्यो।
दोस्रो हाफमा भने आयोजक पूरै हाबी भएको थियो। टोलीका विदेशी खेलाडी म्याक्सले ६४औं र ६७औं मिनेटमा दुई गोल गरे भने अर्का विदेशी खेलाडी अब्बाले ७५औं मिनेटमा गोल गरे। म्याक्सले पहिलो गोल एक्लै बल अगाडि बढाएर गरे भने दोस्रो गोल अब्बाको लामो पासलाई हेडमार्फत जाली चुमाएका थिए।

म्याक्सले म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार हात पारे। अब आयोजक टिम थ्री स्टार क्लब र हिमालयन एफसी मलेसियाबीच हुने खेलको विजेतासँग शुक्रबार सेमिफाइनल खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्