मिस नेपाल प्रतियोगीलाई यामाहाद्वारा तालिम



काठमाडौं, (नेस)
यामाहाले मिस नेपाल,२०१८ का प्रतियोगीका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरूलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका छन्।

मिस नेपाल प्रतियोगीहरूलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरूबारे जानकारी दिएका थिए।

प्रशिक्षणपछि प्रहरी नायब उपरीक्षक मरासिनीले पूर्वाधारको अभावमा ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्ने भनाइको खण्डन गर्नुभयो। ‘सडक दुर्घटना र अव्यवस्था सडक फराकिलो नभएर, सडक खराब, वा फ्लाइओभर नभएर मात्र नभई सडक संस्कृति नभएर भएको हो।

काठमाडौंमा भन्दा बढी गाडी भएका सहरमा पनि राम्रो ट्राफिक व्यवस्थापन छ।’ मरासिनीले भन्नुभयो। मिस नेपालका प्रतियोगीले शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाएका छन्। उनीहरूले काठमाडौंका त्रिपुरेश्वर, थापाथली, जमल र बानेश्वरमा सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिनुका साथै पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्