दोहोरो कर लागू हुँदैन ः अर्थमन्त्री



नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो कर लागू नहुने बताउनु भएको छ्। आइतबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा गरेको छलफलमा अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर लागू नहुने प्रस्टाउनु भयो।

संविधानको परिधिभित्र रहेर संघीय सरकारले कानुन बनाउने भन्दै उहाँले एकआपसमा बाझिने कानुन बनाएमा प्रदेश सकारबीच विवाद हुने स्पष्ट पार्नुभयो। त्यस्तो हुन नदिन प्रदेश सरकार चनाखो हुनुपर्छ। प्रदेशैपिच्छे कर लाग्छ कि भन्ने त्रासबाट मुक्त हुन अर्थमन्त्री डा. खतिवडाले उद्योगी व्यवसायीलाई आग्रहसमेत गर्नुभयो।

उहाँले करको दरसमेत वृद्धि नगरिने बताउनुभयो। खतिवडाले औद्योगिक व्यावसायिक ऐन कार्यान्वयन गरेर सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको चर्चा गर्नुभयो। निजी क्षेत्र भनेको विकास र समृद्धिको इन्जिन भएको बताउँदै निजी क्षेत्रको लगानीबिना मुलुकमा आर्थिक समृद्धि सम्भव नहुने बताउनुभयो। निजी क्षेत्रको लगानीबिना दोहोरो अंकको आर्थिक वृद्धि नहुने भन्दै निजी लगानी बढाउन सरकारले सबै किसिमको सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो।

अर्थमन्त्री खतिवडाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो। तर, गुणस्तरीयतामा भने सम्झौता नहुने प्रस्ट्याउनुभयो। ल्याब टेक्टबाट पास भएका स्वदेशी उत्पादनको प्रयोगमा सरकार लागि पर्ने बताउनुभयो। आत्मनिर्भर भइसकेको वस्तुको आयातमा बढी भन्सार दर लगाएर पनि पनि स्वदेशी उत्पादनलाई प्रोत्साहित गरिने उहाँको भनाइ थियो। उहाँले अब दस्तुरसहितको सेवा होइन मुस्कानसहितको सेवा दिन कर्मचारीलाई आग्रह गर्नुभयो। उहाँले एकद्वार प्रणालीबाट ठूला आयोजना अगाडि बढाइने बताउनुभयो। बैंक ब्याजदरमा हुने घटबढको समस्या समाधान गरिने उहाँको कथन थियो।

राजस्व सचिव शिशिर ढुंगानाले उद्योगी व्यवसायीका लगानीलाई संरक्षण गर्न सरकार तयार रहेको बताउनुभयो। खतिवडाले शेयर बजारमा लहडबाजीमा लगानी नगर्न आग्रह समेत गर्नुभयो। आजको भोलि प्रतिफल प्राप्त हुँदैन। ब्यालेन्स सिट हेर्नुपर्छ लगानी गर्नुभन्दा अगाडि, उहँँले भन्नुभयो, ठूला जलविद्युत आयोजना आउने क्रममा छन्। शेयरको आपूर्ति अत्याधिक छ। त्यसो भएकाले माग नबढेसम्म शेयर बढ्दैन। छलफलमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बैंकहरू सेवामुखीभन्दा नाफामुखी भएको गुनासो गर्नुभयो। ७ प्रतिशतमा ऋण लिएर उद्योगको भौतिक संरचना निर्माण शुरू गर्यो।

तर, उत्पादन हुने बेलासम्म १४ प्रतिशत पुगेको हुन्छ,’ उहाँले भन्नुभयो–‘ब्याज र किस्ता तिर्दातिर्दै टाट पल्टिने स्थिति छ।” निर्यातमा नगद अनुदान दिन पनि उहाँले सुझाव दिनुभयो। उहाँले करदर नबढाइ दायरा बढाउन आग्रह गर्नुभयो। करदाताको पहिचान खुल्ने प्रमाणपत्र दिने व्यवस्था मिलाउन पनि सारडाले सुझाव दिनुभयो।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले निर्यातमूलक र रोजगारमूलक उद्योगलाई प्राथमिकता दिने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले साना तथा मझौला र घरेलु उद्योगलाई प्रोत्साहित गर्ने नीति अबलम्बन गर्न सुझाउनुभयो।

प्रतिक्रिया दिनुहोस्