पर्यटन क्षेत्रका २८ बुँदे सुधारका कार्यक्रम पेस



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टाले) सरकारलाई पर्यटनको विकासका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई तत्काल गर्नुपर्ने ११ र दीर्घकालीन रूपमा गर्नुपर्ने १७ कामको सूची बुझाएको छ। नाट्टा अध्यक्ष सिएन पाण्डे नेतृत्वको टिमले राज्यमन्त्री धनबहादुर बुढा, सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसहित मन्त्री अधिकारीलाई सुझाव हस्तान्तरण गरेको हो।

नाट्टाले पर्यटन क्षेत्रलाई तत्कालै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिन माग गरेको छ। अध्यक्ष पाण्डेले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप बढी भई अवतरणका लागि आएका हवाई जहाज आकाशमै होल्ड गरिराख्नुपर्ने अवस्था रहेको जानकारी दिँदै तत्कालै यस्तो अवस्थाको अन्त्य गर्न आग्रह गर्नुभयो। उहाँले काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बस को प्रस्थान र आगमन टर्मिनल नभएको हुंँदा पर्यटन क्षेत्रले बारम्बार विभिन्न समस्या झेल्नु परेको र पर्यटकमा पनि मुलुकको छविप्रति नकारात्मकता बढ्दै गएको अनुभव गरिएको भन्दै काठमाडौंलगायत देशका प्रमुख पर्यटकीय शहरमा उपयुक्तस्थल चयन गरी टुरिस्ट बस टर्मिनलको निर्माण गर्न माग गर्नुभयो।

अध्यक्ष पाण्डेले पर्यटन उद्योगलाई अत्यावश्यक सेवा सञ्चालन ऐनअन्तर्गत राखि अन्य आकस्मिक सेवा सरह सुविधा प्रदान गरी बन्द, हड्ताल र चक्का जामको स्थितिमा पनि पर्यटक बोकेका सवारी निर्वाध रूपले सञ्चालन गर्न÷गराउन पाउने व्यवस्था कडाईका साथ लागू गर्न पनि माग गर्नुभयो।

सुझाव ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले सबै सुझावलाई सकारात्मक रूपमा लिँदै तत्काल गर्न सम्भव हुने काम केही दिनमै गर्न शुरू गर्ने बताउनुभयो। उहाँले मन्त्रालयले सय दिन र एक वर्षको कार्यक्रम तयार गर्न लागेको जानकारी दिँदै ती कार्यक्रममा नाट्टाको मागसहितको सुझावलाई महत्वका साथ समेट्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री अधिकारीले निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव नभएकाले व्यवसायमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्