क्रान्तिशिखा मिस ग्लोब इन्टरनेसनल



नेस्टार इन्टरटेनमेन्टद्वारा राजधानीमा सोमबार आयोजित युवतीहरूबीचको सौन्दर्य प्रतियोगितामा क्रान्तिशिखा धितालले मिस ग्लोब इन्टरनेसनल २०१८ उपाधि चुमेकी छिन्। तेस्रो संस्करणको यो प्रतियोगितामा रोल्पाकी २१ वर्षीया क्रान्तिशिखा धिताल बेस्ट पर्सनालिटी उपउपाधिसहित प्रमुख उपाधि चुम्न सफल भएकी हुन्। यसअघिको प्रतियोगितामा मैतीदेवीकी मीना बासकोटा मिस ग्लोब इन्टरनेसनल भएकी थिइन्।
अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको प्रतियोगितामा ललितपुरको कुसुन्तीकी २१ वर्षीया ओसन प्रधान बेस्ट फिजिकसहित फस्ट, बल्खुकी निर्जला अधिकारी बेस्ट वाक, मस्ट फोटोजेनिक र मिस ट्यालेन्टसहित सेकेन्ड तथा रीना बमजन मस्ट कन्फिडेन्टसहित थर्ड रनर्सअप भइन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा श्वेता खनाल मस्ट डिसिप्लिन र मस्ट एक्टिभ, यमुना बिस्ट फेसबुक च्वाईस र भ्युवर्स च्वाइस, सानु परियार बेस्ट हेयर, सुरुचि तामाङ बेस्ट स्किन, विनीताकुमारी ठाकुर बेस्ट फिटनेस, अनुशा श्रेष्ठ बेस्ट डान्सर र मस्ट आइकोनिक आइज, सृष्टि शर्मा मस्ट फ्रेन्डली तथा रीमा भट्टराई मिस कन्जिनियालिटी भएका छन्।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट इन्टरनेसनलका सीईओ रमेश सिलवाल, नायिका खुश्बु खड्का, मिसेस नेपाल इन्टरनेसनल सुरुचि पाण्डे, पत्रकार सूर्य चन्द र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। प्रतियोगिताकी आयोजक पूजा निरौलाले युवतीहरूको व्यक्तित्व र आत्मविश्वास अभिवृद्धिका लागि मिस ग्लोब इन्टरनेसनल आयोजना गरिएको बताइन्। कार्यक्रम सम्राट शाहको संयोजनमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्