धुलिखेल अस्पतालमा स्त्री तथा प्रसूतिका लागि छुट्टै आकस्मिक कक्ष



धुलिखेल अस्पतालका संस्थापक निर्देशक तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजूले एक दशकअघि तयार पार्नुभएको योजना मुताविक धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालको स्त्री तथा प्रसूति विभागको आकस्मिक कक्षसमेत छुट्टै भवनमा सञ्चालनमा आएको छ।

डा. माकजूले भन्नुहुन्थ्यो– ‘महिला गर्भवती हुनु र बच्चा जन्माउनु भनेको घरपरिवारको जिम्मेवार व्यक्ति परिपक्व हुनु हो ऊ बिरामी होइन। त्यसैले अरू बिरामीसँग राख्दा आमा र बच्चा दुवैलाई विभिन्न खालको स्वास्थ्य समस्या हुनुका साथै असहज हुने हुनाले प्रसूतिका लागि छुट्टै भवनको परिकल्पना गरेको छु एकदिन पूरा गरेर सञ्चार माध्यमलाई जानकारी गराउनेछु।’

उहाँको योजना र सपना साकार पार्ने उद्देश्यका साथ ३ वर्षदेखि स्त्री तथा प्रसूति सेवा धुलिखेल अस्पतालको प्रशासनिक भवनदेखि दक्षिण पश्चिममा रहेको जग्गामा निर्मित भवनमा सेवा सुचारू गर्दै आएको थियो। सोही भवनको तेस्रो तल्लामा आकस्मिक स्त्री तथा प्रसूति कक्षको निर्माण कार्य सम्पन्न गरी यही चैत्र १ गतेदेखि सञ्चालनमा ल्याएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सुमनराज ताम्राकारले जानकारी गराउनुभयो।

‘हालसम्म आकस्मिक कक्ष एउटै थियो र सबै खाले बिरामी सोही स्थानमा परीक्षण गरिन्थ्यो’ –डा. ताम्राकार भन्नुहुन्छ। स्त्री तथा प्रसूतिका लागि छुट्टै भवनमा आकस्मिकसहितको प्रसूति वार्ड रहेको छ। यसले प्रसूतिहरूका लागि खान, तेल लगाउन, बस्न, नुहाई धुवाई गर्नलगायतका सबै सुविधा सहज हुने चिकित्सकहरूको ठम्याई रहेको छ।

प्रसूति भवनको पूर्वी मोहडामा बिहानको झुल्के घामदेखि मध्याह्नसम्म बच्चालाई घामको तातोमा सेक्न, तेल लगाउन, आमा र बच्चाका कपडा धोएर सुकाउनदेखि सबै सुविधा रहेका छन्। यी सुविधाले गर्दा सुत्केरी आमा तथा बच्चाहरूको स्याहारमा र सुत्केरीका आफन्तजनले एक आपसमा सिकाइ आदानप्रदान गर्नेसमेत अवसर पाउने गरेका हुन्छन्।

स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठ भन्नुहुन्छ– ‘आकस्मिक कक्ष र वार्ड एउटै भवनमा हुँदा आमा र बच्चालाई कुनै समस्या परेमा विशेषज्ञीय चिकित्सक सेवा तत्काल उपलब्ध गराउन सकिन्छ। साथै छिटोभन्दा छिटो विशेषज्ञीय परामर्शसहित उपचार विधि अपनाउन पाउने भएका छौं।’
एउटै भवनमा आकस्मिक र वार्ड हुनाले पेसेन्टलाई छिटो छिटो लाभ मिल्छ भने चिकित्सकलाई पनि सहज हुने भएको छ। सम्भवतः प्रसूति गृहबाहेकका अस्पतालमा यसरी स्त्री तथा प्रसूतिका लागि छुट्टै आकस्मिक कक्षसहितको भवन नै छुट्टै बनाएर सेवा प्रदान गर्ने अस्पताल धुलिखेल नै हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्