वर्तमान सरकार र नगरपालिकाको दायित्व



संसारका प्राणीहरूको कुरा गर्दा मानिसका पनि गुण र दुर्गुण हुन्छन्, अर्थात् एउटा राम्रो पक्ष र अर्को नराम्रो पक्ष। राम्रो पक्षको कुरा गर्दा औसतमा यहाँका मानिस सोझा छन्। खाने–पिउनेसिवाय प्रायः अरुलाई हानि पुर्याउने नेपालीहरूको संस्कार छैन। नराम्रो पक्षको कुरा गर्दा, ज्यादा अन्धविश्वास, अल्लारेपना, आशावादी हुने तर आफूले सकेको योगदान लाजले भनौं वा नचाहेर वा अनभिज्ञ भएर कम गर्ने, जसले गर्दा मुलुकको विकास सधैँ उस्तै देखिने हो। नेपालमा प्रायः नेताहरूमा पनि बढी लालच हुने, दोषारोपण गर्ने र नाटक गर्ने तर योगदानको भावना कम हुने यसैको उपज मान्न सकिन्छ। यहाँका देश चलाउनेहरूलाई हेरौं। कोठामा बस्ने, भतासत्ता र कुर्सीको छिनोफानो गर्ने, गोप्य भागवण्डा गर्ने, दाताहरूको आशा गर्ने, आश्वासन दिने तर समाज र मुलुकका लागि दूरदर्शिता नहुने प्रवृत्ति छ। बरु कुर्सी भएन भने अनुहार निन्याउरो गर्ने र कलह गरेर बस्ने गर्छन्। अब भन्नुस्– यिनीहरूबाट के अपेक्षा गर्नुहुन्छ ?

अरु नभए पनि एकदम दक्ष व्यक्तिहरूलाई मुलुकको विकासका लागि यिनीहरूले अगाडि राख्नुपर्ने होइन र ? खोई त जहिले पनि जस्ताको तस्तै। मेरो गोरुको बाह्रै टक्का भनेजस्तै आफ्नै कुरा लाद्ने गर्छन्। अहिलेको परिप्रेक्ष्यमा मानिसका भौतिक सुविधालाई हेर्दा मुलुकमा विकास नभएको भन्न मिल्दैन। कारण यत्रो सानो मुलुक भएर पनि विलासी मानसिकताले भनौं वा व्यक्तिगत पैसा भएर भनौं, मानिसहरू प्रायः यहाँ सन्तोषी छन्। कारण खान, पिउन पाइराकै छ। यो भन्दा बढी के चाहियो त ? तर कतिपय व्यक्तिहरू भने देशको आर्थिक एवं भौतिक पूर्वाधार अनि समाजलाई चाहिने सानातिना विकासका सुस्तताले गर्दा उति खुशी छैनन्। यी कारणले गर्दा मुलुक सधैँ एकनासले हिँडिराखेको आभास हुन्छ। जलस्रोतको कुरा गर्ने हो भने, देशका ठूला–ठूला जलस्रोतका कार्य सधैँ कलह, कमिसनको चक्कर, मनमुटावका कारण सुस्त र अल्झिराखेको झैँ लाग्छ। यसले गर्दा आर्थिक लाभ आउनबाट यो मुलुक वञ्चित भइराखेको हामी पाउँछौं। यसबाहेक पुल, रेल, सुरुङ मार्ग याने कि फास्ट ट्रयाकका कुराहरू गर्दा एकदम ढिला गतिमा गइराखेको जस्तो लाग्छ।

लोकतन्त्र आएको यत्रो समय भइसक्दा पनि सामानहरू निर्यातभन्दा आयात बढी, व्यवसायिक उद्योग घाटा, बैंक तथा पुँजी बजार नाजुकजस्ता कुराहरूले अलि खल्लो लाग्नु स्वाभाविक हो। हाम्रो मुलुकमा दिन–प्रतिदिन नयाँ–नयाँ प्रणालीहरू आइराखेका छन्। यस्तो अवस्थामा पनि हामीले उद्योग व्यवसाय तथा भौतिक पूर्वाधारहरूको विकास गर्न सकिराखेका छैनौं, जुन खेद लाग्दो कुरा हो। कति जनतालाई परिवर्तनका लागि कराउनु, लेख्नु ? कति नेताहरूलाई गाली गर्नु ? सधैँ एक–अर्कालाई ठोसेर के औचित्य भयो र ? अहिले मुलुकमा रकम, दक्ष व्यक्ति, राम्रा–राम्रा लगानीकर्ता आदि सब कुरा मिलेको छ। यहाँ यस्तो अवस्थामा मुलुक हाँक्नेहरूले यी सबैलाई अँगालेर नयाँ–नयाँ भिजन कडारूपले बनाउन आवश्यक छ। तर यहाँ कुरा एउटा हुन्छ, कार्यान्वयन प्रायः हुँदैन, जुन तथ्यरूपमा सबैले अनुभव नगरेको कुरा होइन।

अब त यस मुलुकमा एकलौटी सरकार पनि आइसकेको छ। वर्तमान सरकारबाट यहाँ आशा गरौं कि सबै प्रदेशहरूसहित मुलुकलाई नमुना विकास उन्मुख राष्ट्रले चिनाऔँ। तर यसका लागि सधैँ अनभिज्ञझैँ नेताहरू एकोहोरो तथा ढिड नभई केही कुराहरूमा गम्भीर हुने हो भने देश विकास भनेको कुनै ठूलो कुरा होइन, खाली सरकार कडा हुनुपर्दछ, कानुन कडा हुनुपर्दछ।

सर्वप्रथम इमानदार र दक्ष व्यक्तिहरूको छनौट हुनु आवश्यक छ। यस्ता मानिसले मात्र मुलुक चाँडोभन्दा चाँडो विकास गरेर राम्रो बनाउन सक्छन्। तर यसका लागि हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई पार्टीले भनौं वा प्रधानमन्त्रीले छनौट गर्न सक्नुपर्दछ। त्यसपछि आर्थिक तथा भौतिक पूर्वाधार विकासतर्फ गुरुयोजना तयार गरेर अगाडि बढ्न सकिन्छ। अर्को कुरा, राष्ट्रको सम्पत्तिको लेखाजोखा गर्नु आवश्यक छ। अनावश्यक सरकारी भत्ता, उपचार खर्च, मनोरञ्जन, सवारी, विदेश भ्रमणजस्ता कुरामा रकम लड्डु–पेडासरह नबाँडी मितव्ययिता अपनाउन सक्नुपर्दछ।

सर्वसाधारण जनताका लागि भने रकम कन्जुस्याइँ गर्नुहुँदैन। रोजगार भत्ता, बाटोघाटोको निर्माण, निःशुल्क मनोरञ्जन, फोहोर समस्या, स्वास्थ्य उपचार, शिक्षादीक्षा, बिजुली, पानी आदिमा जनतालाई सहुलियत दिनुपर्छ। मूल्य नियन्त्रण र निःशुल्क सुधारगृहहरूको निर्माणजस्ता कुरामा पनि सरकार र नगरपालिकाहरूले मन ठूलो गर्न सक्नुपर्दछ। यसपछि सरकारले सर्वसाधारणका लागि करको दायरा फराकिलो गर्न सक्छ।

अहिलेको परिप्रेक्ष्यमा विदेशी दाता, रेमिट्यान्स, करको आशा धेरै गर्ने होइन। बल्की, विदेशी तथा स्वदेशी लगानीकर्तालाई उद्योग, व्यवसाय, पर्यटन र जलस्रोतका लागि बाटोहरू खुलाएर रकम भित्र्याउने हो। यसका लागि सरकार सकारात्मक भएर यिनीहरूलाई हौसला दिई अघि बढ्नुपर्छ।

– रमेशकेशरी वैद्य

बच्चाको आहारमा ध्यान दिनुस्

बच्चाको शरीरिक एवं मानसिक विकास उसको खानपानमा निर्भर गर्छ। सामान्यतः दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्म हुन्छ। यस्तो अवस्थामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ। बालबालिकाको मस्तिष्कको विकासबारेमा गरिएको एक अध्ययनमा आमाको खानपानको असर पनि बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो। यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिडयुक्त खाना बढी सेवन गर्छिन् भने बच्चाको दिमाग तेजिलो हुन्छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेसनल इन्सिच्युट अफ चाइल्ड एन्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्तरूपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ। यसैले बच्चाको स्वस्थता र तेजिलो दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ। यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

हरियो सागसब्जीः बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ। बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ। त्यसपछि उसलाई खानामा पालुंगो, बन्दाजस्ता पदार्थ दिन सकिन्छ। यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

ओखरः ओखर खानाले पनि दिमाग तेज हुन्छ। ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ। यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ। यसैले ओखरसहित बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।

माछाः बच्चाको दिमागको पूर्ण विकासका

लागि ९ महिनाको उमेरपछि उसलाई माछामासु पनि खुवाउन सकिन्छ। गर्भावस्थाकै क्रममा आमालाई
पनि माछा खुवाउनुपर्छ।

दहीदूधः बच्चाको दिमागी विकासका लागि दूधदही दिन सकिन्छ। दहीले दिमागको कोषलाई लचिलो बनाउँछ। यसले गर्दा संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ। चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ। तर बच्चालाई फास्टफुड र जंकफुड कुनै पनि हालतमा नदिनुस्। यसमा दिमागको विकासका लागि जरुरी पौष्टिक तत्व हुँदैन। बच्चाको डाइट चार्ट बनाउँदा चिकित्सकको सहयोग लिन नबिर्सनुहोला।

– दीपक ढकाल (एमबीबीएस विद्यार्थी)

प्रतिक्रिया दिनुहोस्