संघीय संसदका ३३४ सांसदले ११ भाषामा आज शपथ लिने



काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ सदस्यहरुले आज ११ भाषामा शपथ ग्रहण गर्ने छन् ।

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । संघीय संसदको पहिलो ऐतिहासिक बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।

प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराउनेछन् ।

त्यसअघि राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

सर्लाही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादव ८० वर्ष र भट्ट ६९ वर्ष रहेको संसद सचिवालयमा अभिलेख छ । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ ।

शपथ ग्रहण कार्यक्रममा सांसदहरूले नेपाली भाषासहित ११ भाषामा शपथ लिने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने ४२ जना सांसदले नेपाली भाषा बाहेक मातृभाषमा शपथ निवेदन दिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले राष्ट्रपतिबाट मातृभाषा बाज्जिका भाषामा शपथ लिन निवेदन दिएका छन् । राष्ट्रिय सभामा ६९ वर्षकी तारादेवी भट्टले शपथ खुवाउनेछिन् । उनले पनि राष्ट्रपतिबाट ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनेछिन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश सांसदले हिन्दी भाषा रोजेका छन् भने राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले मैथिली भाषामा शपथ लिने भएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मैथिली भाषामा शपथ लिने भएका छन् ।

माओवादी केन्द्रका सांसद एवं पूर्वसभामुख ओनसरी घर्ती र नेता वर्षमान पुनले मगर भाषामा शपथ लिन निवेदन दिएका छन् । संसस सचिवालयका अनुसार राष्ट्रिय सभाका ६ सांसदले आफ्नो फरक भाषामा शपथ लिन निवेदन दिएका छन् । जसमा मैथिली भाषामा वृषेशचन्द्र लाल, डा. सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी र सूर्यनारायण यादवले शपथ लिने छन् ।

संघीय संसदको प्रतिनिधिसभातर्फ नेपालीपछि सबैभन्दा बढी मैथिली भाषामा शपथ हुने भएको छ । नेपाल भाषामा संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शपथ लिने भएका छन् । यस्तै, अवधी भाषामा मोहम्मद इस्तियाक राई, तामाङ भाषामा हितबहादुर तमाङ, बज्जिका भाषामा महिन्द्रराय यादव र उर्दू भाषामा रोहिनाजले शपथ लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्