नुबेन र शिभाली च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
नुबेन लिम्बू र शिभाली गुरुङ पाँचौ नेपाल जुनियर लन टेनिस च्याम्पियनसिप प्रतियोगिताको यु–८ को ब्वाइज र गल्र्सका विजेता बनेका छन्।

नुबेनले असभ सम्राट हाडालाई १०–२, १०–१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन्। यस्तै शिभालीले साम्राज्ञी लामालाई १४–१२, १०–६ को सेटमा पराजित गर्दै विजेता बनिन्। प्रतियोगिताको पहिलो दिनमा समान दुई–दुई खेल जित्दै नुबेन र शिभाली बिजेता बनेका हुन्।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको यु–१० गल्र्स स्पर्धाको सेमिफाइनलमा प्रसंसाले अड्यालोना पौड्याललाई ६–२,६–१ सेटमा हराउँदै फाइनल प्रवेश गरिन्। सोही उमेर समूहको अर्को सेमीफाइनलमा जेनी खड्कालाई ६–०, ६–२ ले हराउँदै सुनीरा थापाले पनि फाइनलमा स्थान पक्का गरिन्।

यसैगरी यु–९ गल्र्समा शैभी ढकाल र समृद्धि महर्जनले फाइनलमा स्थान सुरक्षित गरे। शैभीले प्रतिष्ठा लामालाई तथा समृद्धिले ऐशानी बटाजुलाई हराइन्। यसैगरी ब्वाइज यु–१० स्पर्धाको क्वाटर फाइनलमा सक्षम विक्रम शाहले समन सिंह बस्नेतलाई तथा आयुष्मान घलेले टेन्सिंग गुरुङलाई समान ६–०, ६–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे। सोही उमेर समूहको अर्को क्वाटरफाइनलमा निशाद जोशीले ऋद्धभिक कार्कीलाई ६–१, ६–० तथा राजवीर प्रधानले आर्यम्यमान जोशीलाई ६–०, ६–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे।

यसैगरी यु–९ ब्वाइज स्पर्धामा निशाद जोशीले हर्षित पन्तलाई तथा र बोरिस अधिकारीले असभ सम्राट हाडालाई समान ४–०, ४–० को सेटमा हराउँदै फाइनल भिडन्त पक्का गरे। यस्तै अन्दर–१४ गल्र्स स्पर्धाको शर्भानी श्रेष्ठले आयशा डोल्कर गुरुङलाई ६–१, ६–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरिन्।

यसैगरी प्रणव मानन्धर र आदित्य अग्रवाल यु–१४ स्पर्धाको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। पहिलो चरणको खेलमा प्रणवले श्रीयोग अधिकारीलाई ६–०, ६–० तथा आदित्यले केभीन शाक्यलाई ६–१, ६–२ ले हराए। यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योति राणाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्