फरकधारको सञ्चार उद्यमबाट अर्बपति



काठमाडौं, (नेस)
एक सफल सञ्चारिकासँगै सञ्चार उद्योगमा ठूलो चर्चा कमाएकी एरिना हफिंटन बाल्यकालदेखि नै हक्की स्वभावकी थिइन्। दृढ आत्मविश्वास, कुशल नेतृत्व क्षमता र सञ्चार क्षेत्रप्रतिको लगनशीलताका कारण उनलाई विश्वले सबैभन्दा शक्तिशाली सञ्चारिका तथा टिप्पणीकारका रुपमा चिन्छ। उनका पिता सञ्चारकर्मी थिए। हफिंटनको स्वभावमा उनका पिताकोे छाप परेको ठानिन्छ। बाल्यकालदेखि नै उनमा तर्क वितर्क र वादविवाद गर्ने बानी थियो।

हफिंटन सन् १९५० जुलाई १५ मा ग्रीसको एथेन्समा जन्मिएकी हुन्। १६ वर्षको उमेरमा नै क्याम्ब्रिज विश्वविद्यालयमा अर्थशास्त्र पढाईका लागि हफिंटन बेलायत गएकी थिइन्। क्याम्ब्रिज विश्वविद्यालयमा हरेक साता हुने बहस तथा वादविवादमा उनको संलग्नता हुन्थ्यो।

पछि गएर उक्त बहस कार्यक्रमको अध्यक्षता नै हफिंटनले गर्न थालिन। सन् १९७२ मा विश्वविद्यायलयको विद्यार्थी युनियन अध्यक्षको जिम्मेवारीसमेत लिइन्। उनी क्याम्ब्रिज विद्यार्थी युनियन अध्यक्षका रुपमा काम गर्ने पहिलो विदेशी र तेस्रो महिला हुन्। उनको नेतृत्व क्षमतालाई नै व्यावसायिक सफलताको कडीका रुपमा लिइन्छ।

सन् १९७३ मा उनले लेखेको पुस्तक ‘फिमेल युमेन’ वर्षको सर्वाधिक बिक्री हुने पुस्तकका रुपमा दरियो। उक्त पुस्तकमा उनले विश्व भौतिकवादतर्फ उन्मुख हुँदै गएको र पुरुषवादी सोचाईमा त्यसले ठूलो असर गरेको तर्क गरेकी थिइन्। उनले सन् १९७८ मा ‘अफ्टर रिजन’ नामक अर्को पुस्तक लेखिन्। जसमा उनले पश्चिमा संस्कृतिमा अराजकता मौलाउँदै गएको धारणा राखेपछि उनको लेखाई र व्यक्तित्वलाई विश्वले नजिकबाट चिन्ने अवसर पायो। सन् १९८४ मा हफिंटन बेलायतबाट अमेरिका बसाई सरिन।

अमेरिकामा सन् १९९० को दशकमा पनि उनले आफ्नो पुरातनवादी लेखकको छवि कायम राखिन्। सन् १९८५ मा उनको बिहे अमेरिकी नागरिक माइकल हफिंटनसँग भएको थियो। राजनीतिमा सक्रिय माइकल रिपब्लिकन कंग्रेसका प्रभावशाली नेता थिए। एरिनाले अनलाइन सञ्चारमाध्यमबाट पतिका लागि ठूलो अभियान चलाएकी थिइन्। तर, अमेरिकी सिनेटमा माइकलको हारपछि उनले आफ्नो लेखन धारलाई परिवर्तन गर्दै खोजमुलक र परिवर्तनकारी सोचलाई अंगालिन्।

ब्लगिंग र अनलाइन समाचारको पायोनियरका रुपमा हफिंटनलाई चिनिन्छ। सन् २००५ मा उनले हफिंटन पोस्टको स्थापना गरेकी थिइन। जसलाई उनले सन् २०११ मा अमेरिका अनलाइन कर्पोरेसनलाई ३ अर्ब १५ करोड अमेरिकी डलरमा बिक्री गरिन। तर, उक्त कम्पनीले उनलाई सहसंस्थापक तथा प्रमुख कार्यकारी सम्पादकका यथावत राख्यो।

उक्त कम्पनीमा हाल ३ हजार ५ सयभन्दा बढी कर्मचारी रहेका छन्। उनलाई बोद्धिक चोरीको आरोपसमेत लाग्यो। सन् १९८१ मा उनले लेखेका जीवनी मारिया कालस र १९८८ मा लेखेको पाब्लो पिकासोमा अरूको लेखनलाई उदृत नगरी लेखेको आरोप लागेको थियो।
सन् २००९ मा अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले एरिनालाई सञ्चार जगतमा विश्वको सबैभन्दा प्रभावशाली महिलाका रुपमा सूचीकृत गरेको थियो। सन् २०१७ मा फोब्र्सकोे शक्तिशाली व्यवसायी महिलाको सूचीमा हफिंटन १२औं स्थानमा छिन् भने उनको कुल सम्पत्ति ५० करोड अमेरिकी डलर बराबर छ। हफिंटनलाई ब्लगिङ उद्योगभित्रको सबैभन्दा सफल, प्रभावशाली र व्यावसायिक महिलाका रुपमा हेरिन्छ। उनको अनलाइनमा मुलधारभन्दा विविधताका विषयलाई बढी समेटिएको हुन्छ। चर्चित व्यक्तित्वका जीवनी लेखनमा पनि उनको ठूलो योगदान छ। चित्रकार पिकासोको जीवनी त्यसको एउटा उदाहरणका रुपमा लिन सकिन्छ।

मूल धारभन्दा फरक चरित्रका र लोभलाग्दो सफलता हासिल गरेका सम्पादकको सूचीमा हफिंटनको नाम अग्रपंक्तिमा आउँछ। खास गरी कर्पोरेट मिडियाले न्याय नगरेको भनिने अमेरिकी सञ्चार क्षेत्रमा समेत हफिंटन पोष्ट एक बागी सञ्चारमाध्यमका रुपमा जमिरहेको छ। आफ्नो जीवनका बारेमा बलियो धारणा बनाएर अघि बढ्ने व्यक्ति एक दिन अवश्य सफलताको शिखर चुम्छन् भन्ने कुरामा एरिना विस्वस्थ छिन्। एक सफल महिला उद्यमीले आफ्नो कम्पनी (एओएल) बेचिसकेपछि पनि सञ्चालनको जिम्मेवारी उनैलाई दिइनु त्यसको उदाहरणका रुपमा लिन सकिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्