ठेकेदारले काम नसक्दा वीरगन्ज भद्रगोल



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जमा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार आयोजनाअन्तर्गत सञ्चालित काम तीन महिना ढिलो हुँदा पनि सम्पन्न हुन नसक्दा वीरगन्ज भद्रगोल बन्दै गइरहेको छ।

एसियाली विकास बैंक र नेपाल सरकारको सहयोगमा वीरगन्ज महानगरमा निर्माणाधीन आयोजनाको काम गत नोभेम्बरमा सम्पन्न हुनुपर्ने थियो। तर, ८५ प्रतिशत काम सम्पन्न भए पनि आयोजनाको कामले अग्रसरता लिन नसक्दा नगरकै अवस्था भद्रगोल बनेको हो। ठाउँ–ठाउँमा सडक नालाको काम त्यत्तिकै आधा–अधूरा भएकाले शहरमा धूलोले मानिसलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।

कालिका कन्स्ट्रक्सनले नोभेम्बरमा सम्पन्न गर्नुपर्ने काम खानेपानीको समस्याको कारण तीन महिनादेखि अवरुद्ध भएको आयोजनाका प्रबन्धक शैलेन्द्र श्रेष्ठले बताउनुभयो। उनले घरायसी प्रयोगको खानेपानीको पाइपको समस्या समाधान हुन नसक्दा आयोजनाको काम लम्बिन गएको बताउनुभयो।

खानेपानी संस्थानले अदालत रोड, रानीघाट, आदर्शनगर आदि स्थानमा रहेको घरेलु प्रयोगका खानेपानीको पाइपलाइन फुट्ने समस्या देखिएको र संस्थानले पौने चार करोड क्ष्ँतिपूर्ति माग गरेको हुनाले सो सम्बन्धमा निर्णय हुन नसक्दा आयोजनाको काम लम्बिएको श्रेष्ठले बताउनुभयो। उहाँले वैकल्पिक व्यवस्थाको लागि प्राविधिक टोलीहरूले सर्भे गरिरहेको बताएका छन्।
अहिले कालोपत्र गर्ने काम मात्र बाँकी छ। खानेपानीको पाइपलाइनको कारण आयोजनाको कामले गति लिन नसकेको उहाँको भनाइ छ। अबका केही दिनमा वैकल्पिक व्यवस्था गर्ने अथवा क्षतिपूर्ति दिएर काम सुचारु गर्ने विषयमा दैनिक छलफल भइरहेको श्रेष्ठले बताउनुभयो।

कालिका कन्स्ट्रक्सनले निर्धारित समयमा कार्य सम्पन्न गर्न नसक्दा तीनपटक म्याद थप भएको छ। मधेस आन्दोलन, गिट्टी, बालुवाको समस्यालगायतले गर्दा दुई वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाको काम तीनपटक म्याद थप गर्दा पनि पछिल्लो नोभेम्बर २६ मा कार्य सम्पन्न हुन सकेन।
कालिका कन्स्ट्रक्सनले चाँडो काम सम्पन्न गरेर यस अघि एडीबीबाट पुरस्कृत भएको थियो। यद्यपि, वीरगन्जमा तीनपटक म्याद थप भएर दिएको अन्तिम समयमा काम सम्पन्न हुन नसकेको र तोकिएको समयभन्दा तीन महिना लामो अवधि पूरा गर्दा पनि सो कन्स्ट्रक्सनलाई दण्डित गर्ने काम हुन सकेको छैन। उल्टो कालिका कन्स्ट्रक्सनले काम छोडेर जाने घुर्की दिइरहेको छ।

कन्स्ट्रक्सनले पाउनुपर्ने एडीबी र सरकारको रकम भुक्तानी भए पनि वीरगन्ज महानगरले दिनुपर्ने करिब ५ करोड पारस्परिक रकम बाँकी रहेको दाबी पनि छ। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अब कालिका कन्स्ट्रक्सनको म्याद थप नगरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्