पाटन र गोल्डेनगेट फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
पाटन बहुमुखी क्याम्पस र गोल्डेनगेट इन्टरनेसनल कलेज क्यारेबियन कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा पाटनले आयोजक क्यारेबियनलाई ११ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय २२ रन जोडेको थियो।

जसमा ‘म्यान अफ द म्याच’ घोषित राजन चौधरीले ४६ रन तथा सुवास नेगीले ३७ रन जोडे। जवाफमा क्यारेबियन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो। टोलीका विशाल थापाले ३० रन बनाए।
पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा गोल्डेनगेटले नेपाल कमर्स क्याम्पस (एनसीसी)लाई ८ विकेटले हरायो। शुरूमा ब्याटिङ गरेको एनसीसीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। टोलीका लागि महेश क्षेत्रीले ३३ रन योगदान दिए।

प्रत्युत्तरमा गोल्डेनगेटले ३ बल बाँकी छँदा मात्र २ विकेट क्षतिमा १ सय ५३ रन बनाउँदै फाइनलमा स्थान सुनिश्चित गर्यो। टोलीका लागि जितेन्द्रसिंह ठकुरीले ७१ बलमा शतक बनाउनुका साथै तीन विकेट पनि लिए। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्