भारतको नाटक महोत्सवमा लमजुङको पानीघट्ट



लमजुङ, (नेस)। लमजुङको सामाजिक एवं सांस्कृतिक परिवेशमा आधारित नाटक पानीघट्ट भारतको कोलकोतामा मञ्चन हुने भएको छ। नाटक मञ्चन गर्न कलाकारको समूह मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

नाटक कलकत्ताको रवीन्द्रनगरमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा मञ्चनका लागि छनोट भएको छ। आगामी फागुन १२ र १३ गते हुने नाटक महोत्सवमा पानीघट्ट मञ्चन गरिने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी गराए। उनका अनुसार यो अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चनका लागि नेपालबाट छनोट भएको पानीघट्ट एकमात्र नाटक हो।

केहीअघि लमजुङमा ३ दिनसम्म मञ्चन गरिएको नाटकमा लमजुङको सामाजिक एवं सांस्कृतिक परिवेशका साथै वैदेशिक रोजगारीको प्रभाव र पीडालाई जीवन्तरूपमा चित्रण गरिएको छ। भारतमा हुने महोत्सवमा समेत यसले नेपालकै इज्जत राख्ने विश्वास नाटकका संयोजक तथा मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहराले गरेका छन्। नाटकको माध्यमबाट एक पुस्तादेखि अर्को पुस्ताका बीचमा आएको सोच र व्यवहारको अन्तरलाई देखाउन खोजेको सहायक निर्देशक सञ्जोग लामिछानेले बताए। मनग्य धन दौलत कमाई परिवारको दुःख हटाउन बिदेसिएका युवाको सपनाले आकार लिन नपाउँदै भत्किएको विषयलाई नाटकमा प्रस्तुत गरिएको छ।

नेपालमै लोपोन्मुख पानीघट्ट र ठाडोभाका गीतको समेत संरक्षण गर्ने प्रयास नाटकमार्फत गरिएको निर्देशक तथा लेखक लम्साल बताउँछन्।
नाटकमा केदार बोहोरा कलाकारको भूमिकामा छन्। उनको अपांगता भएको शालिकरामको भूमिका छ। उनको बोल्न नसक्ने श्रीमतीका भूमिकामा निर्मला परियार छिन्। यसै गरी टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, विप्लव बोहोरा, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, आशिष परियार, सुनील बसौला, विमला मिजार यसका कलाकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्