चिसापानीमा सोल्टिनीको कौरा



धादिङ बेनीघाट बजारबाट ३⁄४ घण्टाको कच्ची सडकबाट उकालो लागेपछि पुगिने गण्डकी गाउँपालिकास्थित थुम्लिचोकको चिसापानीमा हालै गायिका कल्पना गुरुङको धेरैमा सोल्टिनी भेट पाएको बोलको कौरा (चुटका) गीतको छायांकन गरिएको छ।

बाटो हेरेर नामक गीति अडियो एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो प्राकृतिकरूपमा निकै रमणीय चिसापानीमा खिचिएको हो। धौलागिरी, अन्नपूर्ण, माछापुछ«े तथा लमजुङका हिमशृंखलाहरुलाई कैद गरिएको यस भिडियोमा विरेन लामा, रविन गुरुङ, सपना गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। गुरुङ अथवा तमु समुदायको बाहुल्यता भएको चिसापानी गाउको लोभलाग्दो हरियाली वनजंगल, ढकमक्क फुलेका लालिगुराँसका दृश्यका कारण यो म्युजिक भिडियो मोहक बनेको उत्पादक तथा वितरक संस्था निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए। गीतमा चर्चा गरिएको भैरवी थानको मन्दिर सो ठाउँको प्रमुख आकर्षणका रूपमा लिइन्छ।

गायिका कल्पना गुरुङलाई निशा गुरुङले साथ दिएको यस कौरा गीतमा पुरुष स्वर भने कौरा गीतका चर्चित गायक दुर्गा गुरुङ र टेक गुरुङले दिएका छन्। विशेष गरी लोकपप गायकका रूपमा चिनिने दुर्गा गुरुङले पछिल्लो समय भने कौरा गायनमा एकक्षत्र राज गरिरहेका छन्। उनी गायकसँगै संगीतकार तथा एरेन्जर पनि हुन्।

गीतमा केटाले भन्छ
धेरैमा सोल्टीनी भेट्न पाएको
रक्षा गरुन् भैरवीले तिम्रो छेउ आएको।
जवाफमा केटी भन्छे
बिर्सियौ मायाले शहर गएसी
थुम्लिचोक जन्मेको ठाउँ छोडी टाढा गएसी।
कल्पना गुरुङकै लय र शब्द रहेको यस गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने कोरियोग्राफी सन्तोषी गुरुङको रहेको छ। पर्सन गुरुङको निर्देशन रहेको भिडियोलाई दुर्गा गुरुङले एरेन्ज गरेका हुन् भने व्यवस्थापक रविन गुरुङ तथा निर्माता विरेन लामा हुन्। यसको भिडियोमा गायक दुर्गा गुरुङ र रेशम गुरुङ तथा गायिका कल्पना गुरुङ र निशा गुरुङ पनि देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्