कवि लाकोजू कवितामा सुरिए



कवि सूर्यप्रसाद लाकोजूको मुक्तक वाचन गर्दै थिए। भन्दै थिए– भीमसेन थापाले धेरैलाई देशको नियतिका बारेमा स्मरण गराउँछ। उनले सिर्जनालयको पहिलो शृङ्खलाअन्तर्गत आफ्नो सिर्जना प्रस्तुत गर्ने क्रममा ‘भीमसेन थापाहरू’ शीर्षकको मुक्तक बाचन गरेका थिएः
चोर पस्न सक्छ घरमा बलिया छैनन् खापाहरू
निराश छन् सर्वोच्च शिखर चढ्ने लाक्पाहरू
लखेटिन्छन् राम्राहरू, सतीले सरापेको यो देशमा
अहिले पनि आत्महत्या गर्छन् भीमसेन थापाहरू।

काभ्रेको पनौतीमा रहेको ज्ञान विकास पुस्तकालयको सभाकक्षमा उपस्थित दर्शकहरू भरिभराउ थिए। उनको मुक्तकले तालीको गड्गडाहट पायो। उनी एकल सिर्जना बाचन गर्दै थिए। त्यो पनि २ सय रुपियाँको टिकटमा।

उनले शुरूमा आमाको बारेमा ‘आमा’ शीर्षकको कविता बाचन प्रारम्भ गरेर सबैलाई आमाको स्मरण गराए। ‘आमा’ कविताबाट भावुक बनेका दर्शकहरूलाई उनले मुक्तकबाट रोमाञ्चक बनाएका थिए। कविता बाचन गर्ने क्रममा उनले मेरो घाम, म पद्मावती, म सक्छु, बुँख्याचा, बुद्ध र युद्ध, मेरो मालिक, आधुनिक महाभारत, ऐनाको व्यापारलगायतका एक दर्जन कविताहरू सुनाए।

उनले सुनाएका कविताहरूमा देश, राजनीतिक अवस्था, सामाजिक अवस्था, प्रेम–प्रणयका विषय उठान गरिएका थिए। उनले करिब एक दर्जन विविध विषयका मुक्तकहरू पनि सुनाएका थिए। मायाप्रेम, राजनीति, सामाजिक विभेद आदिका विषयका मधुशाला, सुन किन चाहियो, भीमसेन थापाहरू, पातैको माया, धरतीको जूनलगायतका आकर्षक र चोटिला मुक्तकहरूले सभाहल तातियो।

केही चोटिला हाइकुहरू पनि प्रस्तुत गर्न उनले भ्याए। उनले राष्ट्रप्रेम, मायापिरती, सामाजिक कुरीति झल्कने आधा दर्जन गीतहरू पनि प्रस्तुत गरेका थिए। समाजको यथार्थता बोकेका आधा दर्जन गीत कवि लाकोजूले प्रस्तुत गर्दा दर्शकहरू रमाएका थिए। यसरी उनले विविध काव्यिक विधाको स्वाद दर्शकहरूलाई दिए।

सो सिर्जना वाचन कार्यक्रममा लोकप्रिय गायक हरि कर्माचायले कविता पनि टिकट काटेर सुन्न आएको घटना आफ्नो लागि पहिलो भएको अनुभव सुनाउँदै सूर्य लाकोजूको मेरो देश शीर्षकको गीत गाएर मन्त्रमुग्ध पारे। उनीसँगै अजय लामा र विजयराम कर्माचार्यले पनि कवि लाकोजूबाट रचिएका गीतहरू गाएका थिए।

नेपाली साहित्यमा विविध विधाका १५ वटा कृतिका सर्जक सूर्य लाकोजूले आफ्नो सिर्जना प्रस्तुतिका क्रममा ‘आमा’बाट कविता बाचन प्रारम्भ गरेर ‘पिता’ शीर्षकको कविता पाठपछि विश्राम लिएका थिए। कार्यक्रम सिर्जना समूहका संयोजक शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्