मेयर कपको विजेता तिरूपति



भैरहवा, (नेस)
तिरूपति क्रिकेट क्लबले सिद्धार्थनगर नगरपालिका भैरहवाको आयोजनामा सञ्चालित प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै तिरूपतिले उपाधि हात पारेको हो।

विजयीसँगै तिरूपतिले नगद ५० हजारसहित ट्रफी र उपविजेता खुकुरीले नगद २५ हजार गर्यो। फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको तिरूपतिले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन बनायो। टोलीका लागि म्यान अफ द म्याच घोषित तुलबहादुर थापाले सर्वाधिक २९ रनको योगदान दिए। बलिङमा खुकुरीका लालबहादुर अधिकारी र साहव आलमले समान ३÷३ विकेट लिए।
प्रतिउत्तरमा खुकुरीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन मात्र बनायो। टोलीका लागि निश्चल चौधरीले ३० रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन नगर्दा टिमले हार व्यहोर्यो। बलिङमा तिरूपतिका तुलबहादुर थापा र धनबहादुर शाहीले समान २÷२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्