टाइब्रेकरमा जित निकाल्दै मोरङ सेमिफाइनलमा



गोकुल घोरसाइने, बारा

आयोजक नवजनजागृती युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोरङ फुटबल क्लब बिराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो क्वाटर फाइनलमा आयोजक सिमरा विरुद्ध टाइब्रेकरमा ४–१ को जित निकाल्दै मोरङ पहिलो सहभागीतामै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भयो। टाईब्रेकरमा मोरङका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बू र दीपक राईले गोल गरे। आयोजक नवजनजागृतीका विजय श्रेष्ठबाहेक अन्य खेलाडीले गोल गर्न सकेनन्। टाइब्रेकरमा आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोस्टको दिशा लिन नसक्दा घरेलु समर्थकका माँझ आयोजक निराश बन्यो।

सिमराले शुरूआती अग्रता जोगाउन नसक्दा खेल टाईब्रेकरमा धकेलियो। समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईब्रेकरबाट नतिजा निकालिएको हो। यसअघि खेलको ६६औं मिनटमा आयोजक नवजनजागृतीका विजय श्रेष्ठले गोल गरेर अग्रता दिलाएका थिए। अफ्रिकन खेलाडी भिक्टरको प्रहार मोरङका डिफेन्डर सुरेन खवासले बचाउ गर्दा रिवाउन्ड भएको बललाई विजयले डि–एरियामा पाएको अवसर सदुपयोग गरेका थिए। तर ७५औं मिनटमा मोरङका भुवन बस्नेतले गोल फर्काएर खेल बराबरीमा पुर्याएका थिए। योगेश गुरुङको पास सदुपयोग गर्दै भुवनले गोल गरेका थिए।
खेलको पहिलो हाफमा आयोजकलाई पूरै समय दबाबमा राखे पनि मोरङले अग्रता लिन सकेन। खेलको सातौं मिनेटमा मोरङका भुवन बस्नेतले आयोजकका किपर विट गरेर पनि गोल गर्ने अवसर गुमाए। भुवनको प्रहार क्रसबार माथि गयो।

खेलको आठौं मिनेटमा कर्ण लिम्बूले पेनाल्टी एरियामा निकालेको पास सुसिल राईले सम्हाल्न नसक्दा मोरङले अर्को अवसर गुमायो। खेलको २१औं मिनटमा भुवन बस्नेतको क्रसमा सुसिल राईले गरेको अर्को प्रहार खेर गयो। डि बक्स भित्रैबाट सुसिलले गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो।

खेलको ३७औं मिनटमा आयोजकका विश्वास उदासले मोरङका सुसिल राईलाई फाउल गरेपछि पाएको फ्रि किकमा मोरङले गोल गर्न सकेन। दीपक राईको उत्कृष्ट फ्रि किक बल गोल लाइन नजिक पाए पनि भुवन बस्नेतले सम्हाल्न नसक्दा मोरङको अर्को अवसर गुम्यो।

घरेलु मैदानमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको आयोजकका प्रशिक्षक नवीन महर्जनले खेलाडीको तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए। अग्रता जोगाउन नसक्नु ठूलो दुर्भाग्य रहेको बताउँदै टाइब्रेकरमा टिमलाई लकले साथ नदिएको बताए।

प्रतिक्रिया दिनुहोस्