के भन्ने होला ?



प्रदेश र केन्द्रको निर्वाचन तयारी भइरहेका बेला खुसुक्क चुनावी साँठगाँठको साइनो सार्वजनिक गरे एमाले र माओवादीले। चुनावी तालेमल सोही अनुसार भयो, उत्साह जनक चुनावी परिणाम उनैले प्राप्त गरे। नयाँ सरकार गठन गर्न मात्र होइन, आगामी दिनमा दुवै दल एक हुने भनिएपछि चुनावी परिणाम उतै ढल्किएको भन्ने चर्चा अझै सेलाएको छैन।

तर दुई दल अझै एक हुन सकेका छैनन्। प्रदेशका सभामुख, मन्त्री र अरु के–के पद भागबन्डामा यी दल जुटेको देख्दा दल मिलाउन गठन भएको कार्यदल देखाउने दाँत मात्रै हो कि भन्ने धरहरालाई लाग्न थाल्या छ। प्राय हरेक दिन ओली र प्रचण्डको भेटवार्ता हुन्छ, कार्यदल पनि बैठकमा जुटिरहन्छ तर खै के, खै के….।

अहिले दक्षिणका विशेष दूत आएर ओलीलाई भेटघाट गरेपछि अब यी दुई दल मिल्ने कुरामा धरहरालाई निकै शंका लाग्न थाल्या छ। भेटघाट त प्रचण्डसँग पनि नभएको होइन, तर दूतसँगको विशेष हिमचिम ओलीसँग रह्यो। दूत उनै ओलीको निमन्त्रणामा आएको भनिएको छ।

त्यसैले दुई बाम दल मिल्नु भन्दा अघि नै ओली र मोदी पो मिल्छन् कि भन्ने शंका धरहरालाई मात्रै होइन, धेरैलाई लाग्या छ। यदि त्यस्तो भयो भने कार्यगत एकतामा मात्रै बामदल सीमित हुने हुन् कि ? त्यस्तो भयो भने मतदातालाई चाहिँ के भनेर रिझाउने होला ?

प्रतिक्रिया दिनुहोस्