मान्छेको आवाज निकाल्ने ह्वेल



पेरिस, (एजेन्सी)
पृथ्वीमा कयौं जनावर त्यस्ता छन्, जो मान्छेको आवाज निकाल्न अर्थात् नक्कल गर्न माहिर हुन्छन्। तर कुनै किलर ह्वेलले पनि मान्छेले निकाल्न सक्छ भन्दा पत्याउन गाह्रो होला।

पहिलो पटक फ्रान्समा एक किलर ह्वेलले मान्छेको आवाज निकालेको पाइएको छ। यसरी ह्वेलले मान्छेको भाषा बोलेको घटनालाई लिएर जीव वैज्ञानिकहरू उत्साहित र आश्चर्यचकित परेका छन्। उक्त पोथी ओर्का ह्वेललाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको एक टोलीले मानव भाषाका केही शब्द सिकाएका छन्। सञ्चारमाध्यमले ह्वेल १६ वर्षको भएको जनाएको छ। यो पोथी ह्वेलको नाम विकी हो, जसले अंग्रेजीका केही शब्द बोल्न सक्छ। उसले हेलो, बाइ बाइ, वन टु र एमीजस्ता शब्द बोल्न सक्छे। यसका लागि अनुसन्धानकर्ताले उसलाई तालिम दिएका थिए। यो ह्वेल फ्रान्सको आन्टिब शहरको मेरिनल्यान्डस्थित एक अक्वारियम पोखरीमा राखिएको छ।

ह्वेलले मान्छेको आवाज निकाल्नका लागि आफ्नो ब्लोहोलको सहारा लिने गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। आवाज निकाल्ने समय उसको शरीरको पूरै हिस्सा पानीमा हुने गर्छ र श्वास लिने हिस्सा भने पानीको बाहिरै हुन्छ। श्वास लिने हिस्सालाई नै ब्लोहोल भनिन्छ।

सुगा, डल्फिनजस्ता कयौं जनावर मान्छेको आवाज निकाल्नमा चर्चित जनावर हुन्। अनुसन्धानकर्ताले उक्त ह्वेलले मान्छेको नक्कल गरी निकालेको आवाजलाई रिकर्ड पनि गरेका छन्। मान्छेको आवाज निकाल्दै गरेको उक्त ह्वेलको अडियो रिकर्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्