युवा टोली पुलिस आहाको फाइनलमा



धन बस्नेत, पोखरा

नेपाल पुलिस क्लब आहा रारा गोल्डकप उपाधिका लागि रुस्लान थ्री स्टारसित भिड्ने पक्का गर्दा इतिहास कोर्ने सपना पूर्वेली टोली धरान फुटबल क्लबको सेमिफाइनलबाट टुंगिएको छ। बिहीबार भएको सेमिफाइनल खेलमा २२औं मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले सदुपयोग गरे। यही एक गोलको बलले पुलिसले झापालाई पन्छाउन पर्याप्त भएको थियो। रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिइयो। पेनाल्टी दिएसँगै धरानले रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै खेल मैदानबाहिर निस्कने तयारी गर्यो। तर प्रशिक्षक अर्जुन राईले खेल्ने निर्देशन दिएपछि केही मिनेटको अवरुद्धपछि पुनः शुरू गरिएको थियो।

धरानले पोखराको मैदानमा आफूलाई पुलिसभन्दा अब्बल देखाउन निकै मेहनत गर्यो। यद्यपि गोल भने निस्किएन्। एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाइनलको यात्रा तय गराउने भूमिका निर्वाह गरिरहे। खेलको ३५औं मिनेटमा डिफेन्ससमेत विट भइसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुँदै पोस्ट नजिकैबाट बाहिरियो। कर्नरको अवसर पाएको धरानले सदुपयोग गर्न सकेन।

२९औं मिनेटमा वर्तमान राईले हानेको बललाई पुलिसका गोलकिपरले पन्च गरेर बिफल तुल्याए। ४१औं मिनेटमा मनोज राईको लङ थ्रो बललाई वर्तमानले डिबक्सभित्रबाट हाने पनि डिफेन्सको खुट्टामा लागेर फर्किएको थियो। पुलिसले भने ११औं मिनेटमा अभिषेक रिजालको प्रहार पन्च सेभ गरेको थियो। ३५ यार्ड टाढाबाट प्रहार बल सीधै पोस्टको दिशातर्फ गएको थियो। तर गोलकिपरले बचाउ गरेका थिए। ७८औं मिनेटमा सुशान लामाले हानेको बललाई पनि गोलकिपरले पन्च गरे।

८५औं मिनेटमा भोला सिलवालले डिबक्सभित्र उपलब्ध गराइदिएको सटपासलाई तेज तामाङले गरेको प्रहार पनि गुम्यो। पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दि म्याचबाट घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्