तेस्रोलिंगी महिलालाई पुरुष जस्तै बन्न दबाब



जाकार्ता, (एजेन्सी)
उत्तरी इन्डोनेसियाको प्रहरीले १२ जना तेस्रोलिंगी महिलालाई हिरासतमा लिएर तिनीहरुको कपाल काटिदिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। साथै प्रहरीले तिनीहरुलाई वास्तविक पुरुषहरुले झैं व्यवहार गर्न प्रशिक्षण पनि दिएको छ।

यसै सप्ताहान्त आचेस प्रान्तको थुप्रै ब्युटी सैलुनमा छापा मारेर त्यहाँ कार्यरत तेस्रोलिंगी महिलालाई स्थानीय प्रहरी चौकीमा लगिएको हो। जबरजस्ती पुरुषको लुगा लगाउन बाध्य पारिएका तिनीहरुलाई ३ दिन हिरासतमा राखिने बताइएको छ। कडा इस्लामिक धार्मिक कानुन लागू हुने आचेस इन्डोनेसियाको एक मात्र प्रान्त हो।

मानव अधिकारवादी समूहले प्रहरीको यस कदमलाई कडा शब्दमा आलोचना गरेका छन्। तेस्रोलिंगी महिलालाई स्थानीय भाषामा ‘वारिया’ भन्ने गरिन्छ। इन्डोनेसियाली भाषामा यसका अर्थ महिला र पुरुष दुवै हुन् भन्ने बुझिन्छ।

स्थानीय प्रहरी प्रमुख अहमद उतुङ सुरिआनाताले बीबीसीलाई भनेका छन्– ‘हामी तिनीहरुलाई परामर्श र प्रशिक्षण दिन ३ दिन हिरासतमा राख्दै छौं। काम पनि राम्रो भइरहेको छ। अहिले तिनीहरु सबैले वास्तविक पुरुषले जस्तै व्यवहार देखाउन थालेका छन्।’

तर, उनले बीबीसीलाई फोनमा यस्तो जानकारी दिइरहँदा ती तेस्रोलिंगी महिलामाथि चिच्याउँदै, ‘तिमीहरु अझै वारिया हौ ?’ भनिरहेको सुनिन्थ्यो। तिनीहरुले भन्दै दबाबमा आएर डराएर सानो स्वरमा आफूहरु वारिया नरहेको भनेको सुनिन्थ्यो। छिमेकीहरुले तेस्रोलिंगी महिला समुदायका कारण आफ्ना बालबालिकामाथि नकारात्मक असर पर्ने गुनासो गरेपछि प्रहरीले ‘अप्रेसन एन्टी मोरल इलनेस’ नामक अभियान थाल्दै तिनीहरुलाई हिरासतमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्