ट्रम्प रक्षा बजेट बढाउने योजनामा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष रक्षा बजेटमा वृद्धि गर्न लागेको समाचार सार्वजनिक भएको छ। उनले सन् २०१९ अर्थात् आगामी वर्षका लागि ७ सय १६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्ने सरकारी सूत्रले जनाएको छ।

कंग्रेसबाट सो बजेट विधेयक पारित हुने हो वा होइन भन्ने अनिश्चितता कायमै छ। तर रक्षा अधिकारीहरूले भने ट्रम्पले सो बजेट प्रस्ताव राख्न लागेको पुष्टि गरहेका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार वासिङ्टन पोस्टले यदि सो बजेट पारित हुने हो भने त्यसको आकार सन् २०१८ को रक्षा बजेटभन्दा ९ प्रतिशतले बढी हुने जनाएको छ।

राष्ट्रपतिको यस मनसायमािथ अमेरिकी रक्षा मन्त्रालयले विचार विमर्श गरिरहेको बताइएको छ। उनको योजना मुताबिक आउने बजेटको आकार अघिल्लो वर्षको तुलनामा निकै ठूलो हुने बताइएको छ। ट्रम्पले आफ्नो प्रस्तावमा हाल अमेरिकी नेतृत्वमा चलिरहेका युद्ध र अमेरिकी हतियार भण्डार निर्माणका लागि बजेट आवश्यक रहेको उल्लेख गरिएको बुझिएको छ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गत साता अघि सारेको प्रस्तावअनुसार सो बजेट आउन लागेको अनुमान गरिएको छ। उनले राष्ट्रिय सुरक्षा नीति प्रस्तुत गर्ने क्रममा अमेरिकी सरकारले सेनाको सशक्तीकरणका लागि योजना बनाएको र त्यसै क्रममा आगमी रक्षा बजेटमा वृद्धि हुने बताएका थिए। यसैको आधारमा ट्रम्पको बजेट प्रस्ताव आएको हुनुपर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्