छुद्रग्रह नठोक्किनेः नासा



लन्डन, (एजेन्सी)
अहिलेसम्म निर्माण भएका गगनचुम्बी भवनभन्दा ठूलो छुद्रग्रह विध्वंश मच्चाउन पृथ्वीतर्फ आइरहेको डेली मेलले जनाएको छ। यदि फेब्रअरी ४ मा यो पृथ्वीसँग जुधेमा यस धर्तीको चारैतिर एक दशकसम्म चिसो र अँध्यारो छाउने, आकाश पूरै कुहिरोमण्डलले ढाक्ने र चारैतिर दर्दनाक स्थिति आउने वैज्ञानिकहरूले अनुमान गरेको उक्त अखबारले जनाएको छ।

तर अखबारले यसबीचमा नासाले उक्त छुद्रग्रह २००२ एजे १२९ पृथ्वीसँग नठोक्किने उल्लेख गरेको छ। वास्तवमा उक्त छुद्रग्रह पृथ्वीबाट २६ लाख माइलभन्दा नजिकको दूरीमा नआउने अनुमान गरिएको छ। यद्यपि नासाले यस प्रकारका आकाशिय बलयलाई सम्भवतः खतरनाक बन्न सक्नेमा सचेत गराएको छ। नासाको उक्त चेतावनीलाई लिएर मेलले एउटा छुद्रग्रह यस ग्रहका लागि हानिकारक बन्न सक्ने भयानक चित्रण गरेको हो।द सनले पनि उक्त विषयलाई समाचार सामग्री बनाएको छ। त्यसै गरी डेली स्टारले ‘हाइड पार्कमा छुद्रग्रह खस्दैछ’ शीर्षकमा सामग्री प्रकाशित गरेको छ।

एक जना चिन्तित नागरिकले नासालाई उक्त समाचार सामग्रीको लिन्क पठाएका छन् र एक छुद्रग्रह हामी सबैको कालका रूपमा अगाडि बढिरेको, तर उक्त एजेन्सीले यस विषयमा किन चासो नदेखाएको? भन्ने प्रश्न राखेका छन्।

एजे १२९ पृथ्वीवाट ४६ लाख ५० हजार माइल दूरीभित्रबाट उडिरहेका सयौं छुद्रग्रहमध्येको एक हो। त्यसैले नासाले यसलाई सम्भावित खतरनाकको दर्जामा राखेको छ, तर तीमध्ये कुनै पनि तत्काल पृथ्वीसँग ठोक्किने स्थितिमा छैनन्।

अर्को महिना एजे १२९ पृथ्वीबाट सबैभन्दा नजिक हुँदा पनि यो चन्द्रमाभन्दा १० गुणा टाढा हुने नासाले जनाएको छ। विश्वकै अग्लो भवनसँग तुलना गर्नु भनेको उक्त छुद्रग्रहको आकार बढीमा १ माइलको दुई तिहाई ठूलो वा ५ सय यार्ड सानो भन्ने हो।

‘हामीले यो छुद्रग्रहलाई विगत १४ वर्षदेखि अवलोकन गरिरहेका छौं र यसको कक्षलाई दुरुस्त बुझेका छौं’ –नासाका प्रबन्धक पल चोदासले बताए। फेब्रअरी ४ मा छुद्रग्रह २००२ एजे १२९ ठोक्किने कुनै सम्भावना नभएको र अर्को सय वर्षसम्ममा पनि यसको सम्भावना नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्