सन् २०१९ भित्र मध्यभोटेकोसी पूरा गर्न दबाब



नेपाल समाचारपत्र
काठमाडौं
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिइएको छ। ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो।

सन् २०१७ भित्र आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि हालसम्म ४० प्रतिशतमात्र सम्पन्न भएको छ। आयोजनाको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका ऊर्जासचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले स्थलगत निरीक्षणपछि दुई वर्षभित्र सिभिल र इलेक्ट्रोमेकानिकलतर्फका काम सक्न ‘एकीकृत समय तालिका’ बनाएर अघि बढाउन निर्देशन दिनुभएको हो। आयोजना निर्माणका क्रममा सबै काम समानान्तर गतिमा अगाडि बढाउन एकीकृत समय तालिका बनाउनुपर्ने देखिएको हो।

ऊर्जा मन्त्रालय र प्राधिकरणको टोलीले आयोजनास्थलको अनुगमनपछि परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीलाई आयोजनाको सम्पूर्ण काम दुई वर्षभित्रमा सक्न निर्देशन दिएको हो। आयोजनाको परामर्शदाता कम्पनीका रूपमा ल्ह्याहमेयर कम्पनी र ठेकेदार कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्ट्रक्सन र एन्ड्रिज हाईड्रोले काम गरिरहेका छन्।
आयोजना सम्पन्न गर्ने समयमा पनि लक्षित कार्यको ४० प्रतिशत काम पनि सम्पन्न भएको देखिँदैन। सन् २०१७ जुनमा निर्माणकाय सक्ने लक्ष्य लिइएको भए पनि आयोजनाको काम अहिलेसम्म ४० प्रतिशतमात्रै भएको छ। मन्त्रालय र प्रँधिकरणको संयुक्त टोलीले आयोजनाको काम सन् २०१९ को जुनमा जसरी भए पनि सक्न समय सीमा तोकिदिएको छ।

स्थलगत अनुगमनका क्रममा ऊर्जासचिव उपाध्यायले आयोजनाको काम ठेक्का सम्झौता अनुसार नभएको भन्दै आवश्यक जनशक्ति थपेर भए पनि समयमा काम सक्नुपर्ने बताउनुभयो। आयोजना निर्माणस्थलमा बेला बेलामा खसिरहने जुरे पहिरो, यसअघिको भूकम्प, र बाँधस्थलको जग्गा समयमा प्राप्त गर्न नसक्दा अपेक्षाकृत काम हुन नसकेको ठेकेदार कम्पनीको भनाइ छ। अहिले आयोजनाको सिभिलतर्फको बाँधस्थल, सुरुङ, विद्युत् गृह निर्माणलगायतका काम भइरहेको छ।

त्यसैगरी ७ दशमलव १ किलोमिटर मुख्य सुरुङमध्ये तीन किलोमिटर सुरुङ खनिएको छ। इलेक्ट्रोमेकानिकलतर्फ पनि विभिन्न उपकरण जडानका लागि आयोजना स्थलसम्म पुगिसकेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाका लागि चार वर्ष खर्चिसकेको र अब अधिकतम २ वर्षभित्रमा काम सक्नुपर्ने बताउनुभयो। घिसिङले ठेकेदार कम्पनीलाई निर्देशन दिँदै भन्नुभयो–‘दुई वर्षभित्रमा जसरी पनि निर्माणको काम सक्नुपर्छ। एकीकृत तालिका बनाएर समानान्तररूपमा अगाडि बढाउनु होस्। अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिंँदैन।’ घिसिङले निर्माण कार्यलाई तीव्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न समेत निर्देशन दिनुभयो।

चमेलियाबाट १५ मेगावाट विद्युत् उत्पादन
काठमाडौं, (नेस)
चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारबाट आयोजनाको पहिलो युनिटमार्फत् १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा पठाएको छ।

३० मेगावाट उत्पादन क्षमता रहेको आयोजनामा ‘युनिट २’ को भने हाल वेट टेस्टको काम भइरहेको छ। बहुप्रतिक्षित आयोजनाले आगामी एक महिनाभित्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन शुरू गर्ने आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। युनिट–२ को वेट टेस्ट र प्रसारणलाइनको ‘लोड रिडक्सन टेस्ट’ को काम सकिएपछि आयोजनाले व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ। यसअघि पुस महिनाभित्रै विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहे पनि बाँधमा समस्या देखिएपछि उत्पादन मिति एक महिना पर धकेलिएको हो।

१ सय ३२ केभी प्रसारणलाइनमा अत्तरिया सबस्टेसनबाट पठाइएको विद्युत्लाई ‘युनिट–१’ बाट उत्पादित विद्युतसँग जोड्न (सिन्क्रोनाइज) लागिएको आयोजना प्रमुख दाहालले बताउनुभयो। दाहालका अनुसार परीक्षणका लागि शुक्रबारबाट पहिलो युनिटमार्फत् राष्ट्रिय प्रसारणलाइनमा विद्युत् पठाइनेछ। ‘१२ जनवरीबाट हामीले युनिट १ मार्फतको विद्युत प्रसारणलाइनमा बहने विद्युतसँग ‘सिन्क्रोनाइज’ गर्ने तयारी गरेका छौं।’ दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

चमेलिया जलविद्युत आयोजना चालू आर्थिक वर्षमा सरकारी क्षेत्रबाट निर्माण सम्पन्न हुन लागेको सबैभन्दा ठूलो आयोजना हो। आर्थिक विकास साझेदारी कोष (इडीसीएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको आयोजना २०६३ साल पुसमा निर्माण कार्य थालिएको थियो। आयोजनासँगै निर्माण भएको बलांच–अत्तरिया १ सय ३२ केभी प्रसारणलाइन भने निर्माण सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्