रियल मेड्रिड मेसी छिन्ने योजनामा रहेको खुलासा



मेड्रिड एजेन्सी
स्पेनीस ला लिगा क्लब रियल मेड्रिडले आफनो चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग लियोनल मेसी छिन्न तयार गरेको खुलासा भएको छ ।

यो हालको कुरा नभई चार वर्ष अघिको रियल मेड्रिडले बुनेको योजना थियो । सन् २०१३ मा विश्व कीर्तिमानी सरुवा शुल्क तिरेर मेसीलाई रियल मेड्रिडले क्लबमा भित्र्याउन लागेको थियो । जर्मन पत्रिका डेर स्पीजेलले दावी गरेको अनुसार स्पेनी क्लबले अर्जेन्टिनी फरवार्डको लागि २५ करोड युरो तिर्ने लागेको थियो । प्रतिवेदनमा जनाए अनुसार मेसीको परिवारिक वकिल इनीगो जुरेजले मेसीका बुबा जोर्जसँगको सम्पर्कमा रियलको चाहना सुचित गरेका थिए ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मेसीले आफनो निजी जेटमा मेसीका वकिल जुरेज, खेलकुद निर्देशक मिग्वेल पार्डेजा र रियल मेड्रिडका वकिलसँग कुराकानी गर्ने योजना पनि बनाएको सो पत्रिकाले जनाएको थियो । पत्रिकाले रियल मेड्रिडले मेसीलाई एक वर्षको लागि २ करोड पाउन्ड र सातामा ३ लाख ८४ हजार पाउन्ड दिने प्रस्ताव राख्ने तयार भएको उल्लेख गरेको थियो ।

रियल मेड्रिडले त्यतिबेला मेसीलाई विश्वमा सबैभन्दा बढी रकम आर्जन गर्ने खेलाडी बनाउन लागेको थियो । साथै उनलाई २०२१ सम्म क्लबमै राख्ने पनि योजना बनाएको थियो । त्यस्तै मेसीका बुबा जोर्जले कमिसन वापत ९ लाख पाउन्ड कमाउने थियो ।

तर सम्झौताको प्रक्रिया अधुरो नै हुँदा रियल मेड्रिडले टोटनह्यामका गेरेथ बेलतिर ध्यान केन्द्रित गरेको थियो । एक साताको छलफलपछि वेल्स खेलाडीलाई विश्व कीर्तिमानी सरुवा शुल्क ८ करोड ६० लाख पाउन्डसँगै ह्वाइट हार्ट लेनबाट बेर्नबेउमा सारियो ।

उता मेसी भने नउ क्याम्पमै रहेर सन् २०१५ र २०१६ मा बार्सिलोनालाई ला लिगा उपाधि र च्याम्पियन्स लिग २०१५ मा दिलाएका थिए । उनले गत वर्ष नोभेम्बरमा सन् २०२१ सम्मका लागि ६२ करोड ६० लाख पाउन्डमा बार्सिलोनामै रहन सम्झौता गरे । नयाँ सम्झौताअनुसार उनले सातामा ५ लाख पाउन्ड पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्