एचआईभीविरुद्ध सात दिन पेटमा बस्ने औषधि



वासिङ्टन, (एजेन्सी)
एचआईभी पीडितहरुले साताको एक पटक मात्र खाए पुग्ने औषधि चक्कीको चाँडै नै मानिसमाथि परीक्षण गरिन लागेको र सुंगुरमाथि गरिएको यसको परीक्षण सफल भएको अमेरिकी वैज्ञानिकहरुले बताएका छन्।

विस्तारै प्रभाव देखाउने यस औषधिको कारण अब रोगीहरुले दिनहुँ सम्झेर औषधि खाइरहने झन्झटबाट मुक्त हुने बताइएको छ। हेर्दा एउटा सामान्य क्याप्सुलजस्तै भए तापनि मानिसका पेटमा पुगेपछि मात्र यसको खोल घुलेर विशेष ढाँचामा क्याक गरिएको औषधि खुल्ने ती वैज्ञानिकहरुले बताएका छन्।

१ दशमलव ५ इन्चे तारा आकारको यस औषधिले सात दिनसम्म पेटभित्रै बसेर औषधि निकालिरहने गर्दछ। बाँदरलगायतका अन्य थुप्रै स्तनधारी जनावरमाथि यसको प्रयोग परीक्षणका लागि सिफारिस गरिएको छ। तर अनुसन्धानकर्ताहरुले दुई वर्षभित्रै मानिसमाथि यसको परीक्षण गरिने जानकारी दिएका छन्। एचआईभी विशेषज्ञहरुले यस नयाँ उपचार विकल्प स्वागतयोग्य भएको बताएका छन्।

यो अलि ठूलै तारा लामै समय पेटभित्र रहिरहे पनि मानिसले खाने खाना भने सानो आन्द्राबाट पास हुने बताइएको छ। आफ्नो काम सकेपछि भने यो तारा टुक्रिँदै पाचन नलीमा जाने बताइएको छ। सुंगुरमाथि गरिएको परीक्षणमा यसभित्र सात दिनलाई पुग्ने तीनवटा एन्टिरेट्रोभाइरल औषधि डोलुटेग्राभिर, रिल्पभिराइन र क्यावोटेग्राभिर राखिएको थियो।

अनुसन्धानकर्ताहरुले भविष्यमा यस्ता खाने औषधि चक्की एचआईभीलगायत अन्य थुप्रै रोगका लागि पनि तयार पारिने बताएका छन्। यसअघि दुई सातासम्म पेटमा रहिरहने तारा आकारको इभरमेक्छिन नामक औलोको औषधिको सुंगुरमाथि प्रयोग परीक्षण भइसकेको छ। अमेरिकास्थित मास्साचुसेत्स इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड ब्राइघाम एन्ड विमिन्स हस्पिटलका अनुसन्धानकर्ता गियोभान्नी ट्राभर्सो यस औषधिबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्