लोकसाहित्यका डोट्याली शब्दकोष



वासुदेव भाइसाब
मोहन दुवाल
स्कृति र लोकसाहित्यमा आफ्नो मूल क्षेत्र बनाएर जीवनका धेरै क्षणहरू साहित्यिक जगत्मा समर्पित तुल्याई सिर्जनामा मन लगाइरहने एकजना स्रष्टा हुन््– वासुदेव भाइसाब। लोकसाहित्य अन्तर्गतका लोकशब्दका खोजीमा निरन्तर आफूलाई सम्प्रेषित तुल्याउन पाउँदा गौरव अनुभव गर्ने भाइसाबले लोककथाका मर्महरू, लोकसंस्कृतिका गाथाहरू, लोकपरम्पराका मान्यताहरू, लोकमानसिकताका भावनाहरू, लोकभाषाका मिठासहरू आफ्नो कलममार्फत प्रस्तुत गर्न जाँगर चलाएका छन्। यस अतिरिक्त यिनले कविता, उपन्यास, नियात्रा, नाटकमा समेत कलम चलाएर आफ्नो साहित्यिक भावनालाई सिर्जनामा रूपान्तरण गरेका छन्।
वासुदेव भट्टले आफूलाई भाइसाबका रूपमा चिनाइसकेपछि थुप्रै साहित्यिक सिर्जनामा आफ्नो डोबहरू सम्प्रेषित गरिसकेका छन्। वैतडीजस्तो अति विकट जिल्लामा जन्म पाएर पनि यिनले सुदूरपश्चिमाञ्चलको लोकसाहित्यको परिचय गराउँदै लोकसाहित्यको अन्वेषण गर्न र गराउन आफूलाई समर्पित तुल्याएका छन्। हाल यिनी महेन्द्रनगरमा बसोबास गर्दै राष्ट्रिय पहिचान देखाउन सक्रिय रूपले सङघर्षरत छन्। वि.सं. २००० असार १५ गते पिता जैयराज भट्ट र माता द्वारिकादेवी भट्टका छोरा भई जन्मेका वासुदेव भट्टले निकै सङ्घर्ष, परिश्रम गरी आफूलाई त्यस क्षेत्रका चर्चित व्यक्तित्वका रूपमा उभ्याउन सफल छन्। बी.ए., बी.एड. उत्तीर्ण गरी शिक्षणसेवामा जीवनका थुप्रै क्षणहरू गुजारिसकेका यिनी कमलापछि तुलसीकै मायामोहमा आफूलाई समाहित तुल्याई छोरा दुई र छोरी चार हुर्काई–बढाई आफ्नो जीवनक्रम गुजार्दै छन्।
वि.सं. २०२२ मा भूमिसुधार भूमिका छपाइ सिर्जनामा प्रथमचोटि देखा परेका यिनी आफ्नै समाजको प्रेरणाले साहित्य लेखनमा अग्रसर भएको सन्दर्भ उल्लेख गर्छन्। अनुभूतिहरूको कलात्मक लेखन हो साहित्य भन्न रुचाउने यिनी लोककल्याण, लोकहितका लागि साहित्य सिर्जना हुनुपर्ने आफ्नो दृष्टिविम्ब रहेको बताउने गर्छन्। हालसम्म यिनका प्रकाशित पुस्तकहरूमा कवितातर्फ डोके, गौंकी र स्वराइ प्रकाशित छन्। उपन्यासतर्फ संस्मरण, सफर, निङ्गलाका छतरीहरु छन् छन्। यसै गरी नाटक विधामा गोरा, चैतालो (दुवै नाटक राष्ट्रिय नाटक महोत्सवमा मञ्चित) छन्। कथासङ्ग्रहतर्फ डोट्याली दन्त्यकथा प्रकाशित छ। यिनका लोकसाहित्यमा आफ्नै खालको सक्रियता रहेकै कारणले लोकसाहित्यमा पनि खोजी–अनुसन्धानका प्रकाशित पुस्तकहरुमा डोट्याली कोश (लोकोक्तिखण्ड), डोट्याली लोकसंस्कृति तथा लोकसाहित्य, सुदूरपश्चिममा डोटी प्रदेशका लोकगाथा अवलोकन, थारु लोकसाहित्य परिचय कोश ग्रन्थहरू प्रकाशित छन्। भरिया दाइ (यात्रा संस्मरण) पनि प्रकाशित छ। समाजका भाइसाब भन्न सुहाउने वासुदेव भट्ट नाटकका निर्देशक भई राष्ट्रिय नाटक महोत्सवमा २०५४, २०५७ र २०५८ मा भाग लिएर प्रशंसापत्र प्राप्त गर्न सफल भएका हुन्। वि.सं. २०५२ मा नै राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरिसकेका भाइसाबलाई यिनले पुर्याएको सिर्जनशीलताका लागि सुदूरपश्चिमाञ्चल साहित्यिक समाज, कैलालीद्वारा २०५९ मा अभिनन्दन गरिसकिएको छ।

मानवअधिकारकै खोजीमा लाग्दै गरेका वासुदेव भाइसाब महाकाली साहित्य संगममा संलग्न भई नेपाल प्रज्ञा परिषद्का सदस्य रहेर आफ्नो संलग्नता राष्ट्रमा देखाइरहेका छन्। लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेलका साहित्यिक सिर्जनाबाट प्रभावित यिनी रविन्द्रनाथ टैगोर, प्रेमचन्दका रचनाहरू मन पराएर अध्ययन गर्ने गर्छन्। जीवनप्रति आशावादी रहेका यिनी लोकसाहित्यको माध्यमबाट समाजसेवा गर्न मन पराउँछन्। डोटी खोलाको नाउँबाट डोटी रहेको सेती अञ्चलका एकजना प्रतिभावान् व्यक्तित्वका रूपमा राष्ट्रमा पहिचान देखाउन सफल वासुदेवका शैक्षिक क्रियाकलापका अनगिन्ती पानाहरू उक्त अञ्चलमा छरपस्ट छन्।

मध्यकालमा बाइसी राज्यहरूमध्ये डोटी एक प्रभावशाली राज्य थियो। उक्त समयमा डोटी राज्यको फैलावट पश्चिममा काली कुमाउँदेखि पूर्वमा कर्णाली र उत्तरमा ठाकुरजीदेखि दक्षिणमा तराईसम्म फैलिएको सन्दर्भ इतिहास–पृष्ठमा लेखिएका छन्। यसै क्षेत्रको खोजी र अनुसन्धानमा जीवनका थुप्रै आयामहरू बिताइसकेका यिनी त्यस क्षेत्रबाट उदय भएका पछिल्लो पुस्ताका अग्रज अन्वेषक हुन्। इतिहासमा उल्लेख हुँदै आएको डोटीभित्रका सन्दर्भका ऐतिहासिक पानाहरू खोज्दै, डोट्याली शब्द, लोकसाहित्य र संस्कृतिका अध्येताका रूपमा आएको पहिचान देखाउन सफल एकजना चर्चित स्रष्टाका रूपमा परिचय कमाइसकेका व्यक्तित्व हुन्– वासुदेव भाइसाब
सङ्कल्प बोकेर हिँड्नेहरू गन्तव्यमा पुग्न सक्छन्। उद्देश्यमा कदम बढाउनेहरू आफ्नो उद्देश्यमा सफलता प्राप्त गर्छन्। यस्तै सङ्कल्प र उद्देश्यमा आफूलाई समर्पित तुल्याई आफ्नो गन्तव्यमा हिँड्न सफल रहेको कारणले वासुदेव भाइसाबले यात्रामा सफलता पाउन सफल रहे। डोटीका लोकसाहित्यका शब्दकोष भन्न सुहाउने यिनको परिचयका हरफहरू डोटीका लोकशब्द र भाषासँग प्रत्यक्ष सम्बन्धित छन्। यिनै वासुदेव भाइसाबले सुदूरपश्चिमलाई राष्ट्रमा चिनाउन निकै परिश्रम पोखेका छन्। नेपाली राष्ट्रिय संस्कृतिको मूलप्रवाहमा त्यस क्षेत्रको उपस्थिति जनाउनका लागि यिनले खर्चेका योगदानहरू अविस्मरणीय र उदाहरणीय छन्।

वासुदेव भट्टका जन्म मध्यमवर्गीय परिवारमा भएको हो। १२ वर्षको छँदादेखि देशबाहिर गएर यिनले अध्ययन गरे। अध्ययनको क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग सम्बन्ध जोड्दै, जीवनका क्रमहरूमा आइपर्ने समस्याहरूसँग जुझ्दै यिनले आफ्नो जीवनका सुन्दर हरफहरू राष्ट्र, समाज र जनताका लागि समर्पित तुल्याइरहे। लेखनमा नाटक विधालाई रुचि भएको विधा भन्न रुचाउने यिनले पछि धेरैजसो समय लोकसाहित्यकै संवद्र्धन, सिर्जनामा लगाउन खोजेको देखिन्छ। लेखनको स्रोत भनेको नै समाज हो, सामाजिक घटनाहरूले नै लेखकलाई प्रभावित तुल्याउँछ। धेरैले रुचाउने साहित्य नै उत्कृष्ट साहित्य बन्छ। यस खालको सोच बनाएर साहित्यिक सिर्जनामा लागेका यिनी साहित्यले राजनीतिबाट बढी प्रभावित भएको हुनुहुँदैन, साहित्य स्वतन्त्र लेखन हुनुपर्छ भन्ने मान्यता र विश्वास व्यक्त गर्छन्।

साथीभाइले भाइसाब भनेर सम्बोधन गर्दागर्दै भाइसाब हुन अथक् प्रयत्न गर्दै आएका यिनी त्यस क्षेत्रका सबैले रुचाइदिएका साहित्यिक भाइसाबका विम्बमा स्थापित हुन सफल छन्। रुचि यिनको साहित्य रह्यो। त्यसैले जस्तो अवस्थामा पनि यिनले साहित्यलाई मन पराइरहे। भाषाको स्वरूप निर्माणमा डट्दै गरेको सर्जक तथा भाषासेवी वासुदेव भाइसाबले डोटेली भाषा, शब्द, संस्कृति, साहित्यको सम्बन्धमा धेरै लेखे, धेरै बोले र धेरै खोजे। यसै सन्दर्भमा यिनले आफ्नो विचार यसरी राखेका छन्– महाकालीदेखि अछाम बूढीगङ्गासम्मको मध्यपहाडी भागको बीचमा बोलिने भाषा डोटेली भाषा हो। कुमाउनी, गढवाली, नेपालीजस्तै डोटेली पनि स्वतन्त्र भाषा हो। संस्कृतको पहाडी प्रत्यय भएका यी भाषाहरू स्वतन्त्र भाषा हुन्। रेडियो नेपालबाट प्रसारित समाचार कुनै निश्चित गाउँको भाषिका हो। उनीहरूले वास्तविक कुरा बुझेका छैनन्। यस्तै भाषिक तर्क र मान्यतामा आफूलाई देखाउँदै आएका यिनी आफ्नो प्राचीन गौरव एवं संस्कृतिका मूल धरोहरलाई बुझ्न सक्ने स्थिति क्रमशः बन्दै जाओस् भन्ने अभियानमा सक्रिय रहँदै आएका हुन्। त्यसैले यिनको ध्येय त्यस क्षेत्रको लोकसाहित्य र लोकसंस्कृतिको विकास गर्ने र त्यसलाई राष्ट्रियस्तरमा पुर्याउने नै हो।

जीवनमा उद्देश्य बोकेर कुद्नेहरूले नै सफल जीवनको प्राप्ति गर्छन्। यिनी पनि जीवनमा आफ्नो उद्देश्य बोकेर सफल जीवन प्राप्तिका लागि कुदिरहेका छन्। यिनको प्रयास स्तुत्य छन्। यिनले खोजी गरेका लोकसाहित्यका हरफहरू उल्लेखयोग्य छन्। ठाउँ जहाँकै होस्, व्यक्ति कुनै जातिका होऊन् तर उद्देश्य र सङ्कल्प सपाट भएपछि विजय निश्चित छ। वासुदेव भाइसाब यस अर्थमा यस क्षेत्रका चर्चित प्रतिभा हुन्। शिक्षणसेवामा आफ्नै छवि र बर्कत देखाउन सफल शिक्षक। समाजसेवामा सेवाका मर्महरू पोख्न सफल समाजसेवक। साहित्य सिर्जनामा आफ्नै पन देखाउन सक्षम साहित्यकार। साहित्यिक क्रियाशीलतामा आफूसक्दो सेवामा समर्पण गर्न जानेका योद्धाका रूपमा परिचय देखाउन सफल वासुदेव भाइसाबको योगदान सुदूरपश्चिमाञ्चलकै लागि अत्यन्त महत्वपूर्ण रहेको देखिन्छ। साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशील यिनी सेती भएर बग्दै महाकाली अञ्चलका चर्चित स्रष्टा तथा द्रष्टाका रूपमा आफूलाई सफलतापूर्वक उभ्याउन सफल छन्। कविता, कथा, उपन्यास, नाटक लेखनमा पनि आफ्नो कर्म र सिर्जना देखाउँदै आएका यिनी लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालबाट विशेष प्रभावित छन्। यिनी लोकसाहित्यको माध्यमबाट समाजसेवा गरेर दिन बिताउन चाहन्छन्। यिनले मलासिनी मासिकको सम्पादन गर्नुका साथै बालअधिकार र कर्णालीको सेरोफेरो ग्रन्थको सम्पादन गरेर आफूलाई सफल सम्पादकका रुपमा उभ्याउन पनि सफल छन्।

खोजी अनुसन्धान गर्दै अर्काको परिचय दिन कञ्जुस्याइँ गर्नेहरूका लागि वासुदेव भाइसाब ओझेलमा परेका नाम र नसुनिएका लेखक हुनसक्छन्। तर मेरो दृष्टिमा यस्तै सुन्दर मान्छेहरूको उत्खनन भएपछि मात्र नेपाल सुन्दर र सौम्य राष्ट्र हुनसक्छ। बधाई छ– लोकसाहित्य र साहित्यमा महेन्द्रनगर, कञ्चनपुरमा रहेर निरन्तर सेवा गर्न मन गरेर यात्रामा लागिरहेकोमा।

प्रतिक्रिया दिनुहोस्