एमाले–माओवादी एकता बाध्यता कि आवश्यकता ?



दीपक खनाल

जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने नेकपा (एमाले) र एक्काइसौँ शताबदीको जनवादद्वारा कार्यकर्तालाई प्रशिक्षित गर्दै आएको नेकपा (माओवादी) केन्द्रबीच पार्टी एकता हुने चर्चाले राष्ट्रिय⁄अन्तर्राष्ट्रिय बजार पिटिरहेको छ। कतिपय नेताहरूको भनाइलाई विश्लेषण गर्दा यसबाट केही छिमेकीसमेत भूलभुलैयामा परिरहेका छन्। र, यो एकता प्रयास विफल पार्न कम्मर कसेर लागिरहेका छन्। तर दुवै पार्टीका शीर्ष नेताका कुरा सुन्दा एमाले र माओवादी केन्द्रबीचको एकता लगभग पक्काजस्तै देखिएको छ। यसको प्राविधिक पक्ष अर्थात् नेतृत्वको व्यवस्थापन मात्र मिलाउन बाँकी हो।

आमजनता र पत्रकार २०७४ को बडादशैँको उल्लासमा रमाइरहेको बेला चुनावी तालमेलसहित पार्टी एकतासम्मकै टु·ोमा पुगेका दुवै पार्टीका माथिल्लो तहका नेताहरू पार्टी एकता संयोजक समिति नै बनाएर त्यही गृहकार्यमा लागिरहेबाट पनि यो अभियानको अन्तिम गन्तव्य एकता नै हुने देखिन्छ। पार्टी एकताको नारासहित गत मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा होमिएका यी दुई पार्टीलाई जनताले त्यहीअनुसारको जनादेश पनि दिएका छन्। अर्थात् चुनावी परिणाम वा जनादेश दुई पार्टीलाई एकता नै गर्ने दबाबसहित प्राप्त भएको छ। त्यसैले अहिले यी दुई पार्टी एकताले बजार तताई नै रहेको छ, यो सालको मीनपचास शुरु भइसक्दा पनि।

एकता दुवै पार्टीका लागि बाध्यता कि आवश्यकता भन्ने विषयमाथि उत्तिकै घोत्लिन जरुरी छ यति बेला। गौर विश्लेषण गर्दा यो एकता प्रयास बाध्यता र आवश्यकता दुवै हो, दुवै पार्टी र तिनका नेताका लागि। बाध्यता यो मानेमा कि एमालेलाई माओवादीसँग नमिली सुखै छैन। एकातिर माओवादीसँग तालमेल नगरेको भए एमालेलाई प्रत्यक्ष र समानुपातिकतर्फ अहिले आए जति उपलव्धि प्राप्त हुन गाह्रै हुनसक्थ्यो। ऊ पहिलो पार्टी नबन्न पनि सक्थ्यो। अर्काेतिर माओवादीसँग नमिली उसलाई सरकार चलाउन नै धौ–धौ हुनेछ। माओवादीलाई बिच्क्याएमा माओवादी नेपाली कांग्रेसलगायतका दलसँग सहकार्य गरी सरकार बनाउन जान सक्नेछ। कतिपय विदेशी शक्तिहरूले चाहेको पनि यही देखिन्छ। त्यसपछि एमाले जोड–घटाउको अस्थिर सरकार निर्माणकै लागि अङ्क खोज्न मधेसी जनअधिकार फोरमलगायतका दलको पुच्छर समात्न बाध्य हुनेछ, जसले दीर्घकालीनरूपमा एमालेलाई नै फाइदा गर्नेछैन। त्यसैले एमाले माओवादीसँगको एकताबाट पर जान नसक्ने अवस्थामा छ। माओवादीका लागि पनि एकता बाध्यता नै हो। किनकि हालै सम्पन्न निर्वाचनको जनादेश तोडेर अगाडि बढेमा वा एकतामा नगएमा जनताले माओवादीलाई नै पहिलो अर्घेलो देख्नेछन्। त्यसको प्रतिक्रिया अर्काे चुनावमा माओवादीविरुद्ध प्रकट हुनेछ। एमालेसँग प्राविधिक तालमेल नगरेको भए माओवादीलाई प्रत्यक्षतर्फको निर्वाचनमा ३६ सिट शायदै हात लाग्ने थियो। अतः माओवादीको मूल संस्थापन पक्ष एमालेसँग जसरी पनि मिल्न आतुर र बाध्य छ।

यहाँनिर नेताद्वय ओली र प्रचण्डको उच्च महत्वाकांक्षाले पनि घर गरेको छ। माओवादी अध्यक्ष प्रचण्ड महत्वाकांक्षी मान्छे हुन्। उनलाई एमाले–माओवादीसहितको ठूलो पार्टीको अध्यक्ष बन्ने महत्वाकांक्षा जागेको छ। समय र परिस्थितिले साथ दिएमा वा आगामी दिनमा एकीकृत पार्टीलाई आफ्नो सफल नेतृत्वमा हाँक्न सकेमा उनी मुलुकको कार्यकारी राष्ट्रपतिसमेत बन्न चाहन्छन्। प्रचण्ड सधैँ एउटा कुरा भन्ने गर्छन्– काग कराइरहन्छ, पिना सुकिरहन्छ, कुकुर भुकिरहन्छ, हात्ती लस्किरहन्छ। प्रचण्ड डाइनामिक क्षमता भएका अर्थात् लेफ्ट–राइट, अप–डाउन गर्न सक्ने शैली भएका नेता हुन्। आफैँले बनाएको घर भत्काएर पुनः नयाँ बनाउन पनि माहिर छन् उनी अर्थात् उनी उनकै शब्दमा नयाँ–नयाँ छलाङ मार्न पनि बहुतै सिपालु छन्। डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दजस्ता अति निकट आफ्नै हितैसी सारथीले छोडेर जाँदा पनि एक्लै दौडने प्रचण्ड फेरि एमालेसँगको नयाँ यात्रामा हिँड्न तयार भएका हुन सक्छन्। यद्यपि प्रचण्डलाई अहिले कुन बाटो लिऔँ भन्ने दोधार हुनसक्छ। नेपाली कांग्रेसबाट पाँचबर्से स्थायी प्रधानमन्त्री बनाउने अफर आइसकेको छ। तर उनले अहिले एमालेसँगको एकताको बाटो लिनु नै ठीक देखिन्छ। किनकि उनले यो एकतालाई बेवास्ता गरी दायाँ मोडिएमा उनलाई समयले फेरि साथ नदिन सक्छ। पार्टी एकताको नारा दिएर नै उनीहरूलाई यस्तो जनादेश प्राप्त भएको हो। किनकि यस्तो नारा नदिएको भए एमाले र माओवादीको आकार यति ठूलो हुने थिएन। हो, त्यसैले उनी अब अर्काे एकपटक पार्टीका दुई–चार जना ‘बार्गेनर’लाई पुरानो यात्रामै छाडेर आफू नयाँ यात्रामा अघि बढ्न खोज्दै छन्।

एमाले अध्यक्ष ओलीलाई पनि आफ्नो प्रधानमन्त्रीत्वमा चलाएको छोटो अवधिको सरकारको नशाले चित्त बुझेकै छैन। त्यसैले उनी यो गठबन्धनपछि लामो समयको प्रधानमन्त्री हुन चाहन्छन्। आफ्नै शरीर कमजोर भएको र औषधिले बाँचिरहेको अवस्थामा ‘फुल टाइमर’ प्रधानमन्त्री भएर केही गरौँ भन्ने लालसा हुनसक्छ उनको अन्तर्यमा। अर्काेतिर दुवै पार्टीमा अहिले लिडरसिपको कमी छ। एमालेमा पनि त्यही ‘क्राइसिस’ छ। मदन भण्डारीपछि ओलीले आफ्नो अध्यक्षकालमा जति छिटो एमालेलाई जुरुक्कै उठाए, त्यसअघिको नेतृत्वले शायदै उठाउन सकेको थियो। ओली अध्यक्ष हुनुअघि एमालेमा गुटैगुट थियो। त्यो गुट भित्रभित्रै चलमलाइरहेको भए पनि ओलीले नेतृत्व लिएपछि पहिलेजस्तो बाहिर प्रकट हुन पाएको छैन। एमालेको योगेश भट्टराई, रवीन्द्र अधिकारीजस्ता क्रियाशील मार्काले ओलीपछि आफ्नो पार्टी हाँक्ने ‘डाइनामिक’ मुख्य नेतृत्व देख्न सकेको छैन। त्यसैले यो पुस्ता प्रचण्डजस्तो नेतालाई अध्यक्ष मान्न तयार भएको हुनसक्छ। किनकि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमको पूर्व मूल नेतृत्वबाट यो युवापुस्ता त्यति खुश देखिँदैन। त्यसैले अझै पनि ओली एमालेभित्रकालाई भन्दा प्रचण्डलाई पार्टीको नेतृत्व दिन तयार भएका हुनसक्छन्। अर्काेतिर माओवादीमा पनि नेतृत्वको ‘क्राइसिस’ छ। प्रचण्ड नै अहिलेसम्मकै प्राधिकार हुन्। उनीबाहेक नेतृत्व सम्हाल्न सक्ने ‘डाइनामिक’ नेता माओवादीमा देखिँदैन। त्यसैले उनी पनि एमाले र माओवादी मिलाएर नयाँ बन्ने पार्टीभित्रैबाट नयाँ नेतृत्व उमार्न चाहन्छन्।

आवश्यकता यो मानेमा कि यी दुवै पार्टी साँच्चै कम्युनिस्ट हुन्, दुवैको लक्ष्य समाजवाद–साम्यवाद नै हो भने अब फरक–फरक भान्सा गरेर बस्न जरुरी छैन। पाँचबर्से स्थायी सरकार बनोस् भनेरै जनताले बहुमत दिएका हुन् एमाले–माओवादी गठबन्धनलाई। हुन पनि मुलुकमा सिद्धान्तवादी कम्युनिस्टहरूकै वर्चश्व छ। कम्युनिस्ट विचारधाराका जनता पनि बढी छन्। सबै कम्युनिस्ट मिल्दा मुलुक हाँक्ने तागत झन् बलियो हुन्छ। यो तागतबाट नेपाललाई सधैँ खेलाउँदै आएको र नेपालको स्थायी विकास नचाहने वैदेशिक शक्ति दीर्घरूपमा पाखा लाग्नेछ। मुलुकलाई आर्थिकलगायत अन्य समृद्धिको बाटोमा लाग्न मार्गप्रशस्त हुनेछ। विगतमा यी दुई पार्टीले सामान्य तालमेल गर्दा मुलुकले पहिलो महिला राष्ट्रपति र सभामुख बनाएर इतिहास रचेको थियो। झिनामसिना कुरा, पदीय स्वार्थमा नभुल्दा मुलुकमा नयाँ इतिहास नै रचिँदो रहेछ। अब पनि सीमित लोभ र स्वार्थ त्यागेर अघि बढेमा एमाले र माओवादीको सहवासबाट जन्मने नयाँ पार्टीले धेरै गर्न सक्ने देखिन्छ। सिद्धान्ततः कम्युनिस्ट चरित्र गुमाइसकेका भए पनि यिनीहरू मिलेर एउटै पार्टी र पाँचबर्से स्थायी सरकार बनाएमा जनपक्षीय कार्य गर्न सकिने धेरै प्रबल सम्भावनाहरू छन्। सैद्धान्तिक हिसाबले संविधानमा नै समाजवाद लेख्न सफल भइसकेका यी दुई पार्टीले भित्रैदेखि चाहेमा वास्तविक समाजवादी समाज निर्माण हुन नसक्ने स्थिति छैन। नेपाली कांग्रेससमेत सैद्धान्तिकरुपले प्रजातान्त्रिक समाजवादी भएकाले र संविधानमा समाजवाद लेख्न तयार भइसकेकाले उसलाई समेत त्यहाँसम्म लैजान सकिन्छ। अतः नेतृत्व व्यवस्थापनलाई कुशलापूर्वक टुङ्गो लगाउन सकेमा एमाले र माओवादीको मिलन पक्कै हुनेछ। माथिल्लै प्रसंगमा भनिएजस्तै यो एकता दुवै पार्टी, दुवै पार्टीका नेताका लागि बाध्यता हो भने जनता र राष्ट्रको कालजयी प्रगति, उन्नति र समृद्धिका लागि ऐतिहासिक आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्