राष्ट्रिय सहमति जुटाउन देउवाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने लगायतका विषयमा सहमति जुटाउन आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन मिति, प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने लगायतका विषयमा पार्टीभित्र र अन्य दलहरुसँगको छलफललाई निरन्तरता दिँदै आएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु सहभागी हुनेछन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि यी ५ वटा दलले मात्रै राष्ट्रिय मान्यता पाएका छन् ।

दलहरुसँगको सहमतिमा प्रदेश प्रमुख तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । राष्ट्रियसभाको निर्वाचन प्रदेशको राजधानीबाटै गर्नुपर्ने भएपछि सरकार त्यसैको तयारीमा जुटेको छ

बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्