एमाले–माओवादी एकता, ओली अस्वस्थ हुँदा बैठक बस्न सकेन



काठमाडौं, (नेस)
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता अस्वस्थ हुँदा दुई पार्टीको बीचमा छलफल प्रक्रिया अगाडि बढ्न सकेको छैन। दुई सातादेखि बस्ने भनिएको दुई पार्टीका अध्यक्ष सहभागी रहेको पार्टी एकता संयोजक समितिको बैठक पनि अनिश्चित भएको छ। ओली र प्रचण्डबीच नयाँ सरकार गठनअघि नै पार्टी एकताको मोटोमोटी खाका तयार गरेर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको छ।

तर ओली र प्रचण्डबीच पद बाँडफाँडमा नै कुरा मिल्न नसकेको बताइएको छ। दुई अध्यक्षको बीचमा पद बाँडफाँडमा नै कुरा मिल्न नसक्दा एकता संयोजक समितिको बैठक बस्न नसकेको बताउँदै एमालेका एक नेताले भने– ‘एकता त होला तर समय लाग्छ, बहस र छलफल पनि आवश्यक छ।’

पार्टी एकीकरण गरेर सरकार गठन गर्नुपर्ने पक्षमा माओवादी केन्द्र्रले जोड दिएको छ। ओली र प्रचण्डको बीचमा पद बाँडफाँड भएपछि मात्र दोस्रो तहका नेताहरूको व्यवस्थापन, विचार सिद्धान्तको बारेमा छलफल हुने बताइएको छ। दुवै दलका नेताहरूले अनौपचारिक छलफल गरेपछि एकताको खाका तयार हुन सकेको छैन। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले पार्टी एकता र पद बाँडफाँडमा दुई अध्यक्षबीच कुनै पनि विवाद नरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पद बाँडफाँडमा कुरा मिलिसकेको छ, औपचारिक रूपमा घोषणा गर्न मात्र बाँकी हो, दुई अध्यक्षको बीचमा दैनिक रूपमा टेलिफोन संवाद भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्