‘टेलियासँग सम्बन्धित कसैलाई छाड्दैनौं’



 

रोविन पौडेल, काठमाडौं
एनसेलको पुँजीगत लाभकर विषयमा अटेरी गर्दै आएको टेलिया सोनेरामा संलग्न एक–एकलाई कारबाही गर्ने ठूला करदाता कार्यालयको दाबी छ। एनसेल बिक्रीवापत तिर्नुपर्ने बक्यौताका रूपमा रहेको पुँजीगत लाभकर चुक्ता नभएसम्म यसमा संलग्न जोकोहीलाई नेपालमा कुनै कारोबार गर्न नपाउनेसम्मको कारबाही गर्ने ठूला करदाता सेवा कार्यालयले जनाएको हो।

पुँजीगत लाभकरको बक्यौता रकम नतिरे टेलियासँग सम्बन्धित हरेक व्यक्तिलाई कारबाही गर्न ठूला करदाता कार्यालयले कुनै कसुर बाँकी नराख्ने कार्यालय प्रमुख गंगाराम गेलालले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘यस कम्पनीसँग सम्बन्धित कोही व्यक्ति नेपाल आउनेबित्तिकै समातेर प्रहरीलाई बुझाउने गरी कारबाही गर्न लागेका छौं। यसका लागि हामीले अध्यागम विभागसँग समन्वय गर्छौं।’ त्यस्तै उनीहरूको सम्पत्ति तथा नेपालका अन्य क्षेत्रमा गरेको लगानीबारे अध्ययन तथा छानविन गर्न कम्पनी रजिस्टार कार्यालय, उद्योग विभाग तथा सरोकारवाला सबै निकायसँग समन्वय गर्ने कार्यालयको योजना रहेको उहाँले बताउनुभयो।

उक्त कम्पनीलाई लाभकर चुक्ता गराउन अप्ठ्यारो परिरहेको अवस्थामा ठूला करदाता कम्पनीले टेलिया सोनराको नाममा स्वीडेन र नेपाल दुवै देशको अदालतमा मुद्दा चलाउने भएको छ। गेललाले भन्नुभयो– ‘केही पहिले नेपाली भाषामा सूचना जारी गर्दा कम्पनीले अटेरी गरेकाले हामीले अंग्रेजीमा सूचना जारी गरेका हौं। अहिले सूचना जारी गर्दा पनि अटेरी गरेको हाम्रो अर्को विकल्प भनेको स्वीडेनका पत्रिकामा स्वीडिस र अंग्रेजी भाषामा सूचना निकाल्ने हो। त्यसबाट पनि कुनै सीप नचले कानुनले निर्दिष्ट गरेअनुसार नेपाल र स्वीडेन दुवै देशको अदालतमा मुद्दा चलाउने छौं।’

पटक–पटक अटेरी गरेको भन्दै उहाँले सो कम्पनीका जोकोहीको सम्पत्ति छानविन गरी कालोसूचीमा राख्ने तथा उनीहरूले कर चुक्ता नगरी भविष्यमा नेपालमा कुनै कारोबार गर्न नपाउने गरी कारबाही गर्न लागिएको हो। उहाँले भन्नुभयो– ‘कार्यालयले कर तिर्न पटक–पटक पत्र काट्दै आएको भए पनि अटेर गर्दै आएको छ।’ यदि कर अधिकृतले गरेको कुनै कानुनी कारबाही चित्त नबुझे पुनरावेदन गर्न पाउने भए पनि कुनै प्रक्रिया नै नचाली कर तिर्ने विषयमा कम्पनी सधैं चुप बस्नुले उसको अटेरीपन स्पष्ट हुने उहाँको भनाइ छ।

नेपालका लागि यस्तो ‘केस’ नयाँ भएको उहाँको भनाइ थियो। ‘एनसेलसम्बन्धी उठेको सबै सवाल नेपालका लागि विल्कुलै नयाँ विषय हुन्। त्यसैकारण टेलिया सोनेराबाट लाभकर उठाउने ठूला करदाता कार्यालयले नयाँ पद्धति तथा कार्यविधि अपनाउनुपरेको हो।’ अझ कम्पनीले हाम्रो कमीकमजोरी पत्ता लगाउँदै अनेक चोरबाटो अपनाउने, उच्च राजनीतिक पहुँचको प्रयोग गर्नेलगायत काम गरेको उहाँ भनाइ छ।
ठूला करदाता सेवा कार्यालयका लागि पनि यत्ति धेरै परिमाणमा कर उठाउने यो पहिलो अवसर रहेको प्रमुख गेलालको भनाइ छ।

टेलिया सोनेरा टेलिकम्युनिकेसन बाहेक नेपालमा कुनै कारोबार नगर्ने कम्पनी हो। यसको कारोबार विषयमा उठेका सवाल नेपालका कुनै कानुनी तथा भौतिक दायरामा पर्दैन। कम्पनीले नयाँ प्रविधि अपनाउने तथा विदेशी लगानीबाट सञ्चालित कम्पनी भएकाले यसले बेइमानी गर्ने गरेको प्रमुख गेलालको भनाइ छ।

ठूला करदाता कार्यालयले टेलिया सोनरालाई ६५ अर्ब पुँजीगत लाभकर तिर्न बुधबार १५ दिने अल्टिमेटम दिएको थियो। ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिमा कर नतिरेमा अन्य विधिबाट कर असुल उपर गर्ने चेतावनी दिएको छ।

कार्यालयले एनसेलको पुरानो कम्पनी टेलिया सोरनालाई ६५ अर्ब ४० करोड रुपियाँ कर चुक्ता गर्न सूचना जारी गरेको हो। एनसेलको पुँजीगत लाभकरसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले पुँजीगत लाभकरका बारेमा दुई सातापछि निर्णय गर्ने भन्दै पूर्ण इजलासमा पठाएको छ। कार्यालयले यसअघि गत जेठ १३ मा टेलिया सोनेरालाई कर तिर्न पत्रचार गरेको थियो। तर, उक्त कम्पनी सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको कार्यालयले जनाएको छ।

२०७२ चैतमा टेलिया सोनेरालाले मलेसियाको एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो। टेलिया सोरेनाले एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर ६० अर्ब ७१ करोड रुपियाँ तय भएको सूचनामा उल्लेख छ। तर, तोकिएको समयमा कर नतिरेका कारण त्यसमा थप ब्याज र जरिवानासहित बक्यौता रकम ६५ अर्ब ४० करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ। समयमा कर नतिर्दा ब्याज र जरिवाना मात्रै करिब ५ अर्ब रुपियाँ बढिसकेको उल्लेख गर्दै कार्यालयले १५ दिनभित्र उक्त पुँजीगत लाभकर नतिरेमा कर ऐन, २०५८ अनुसार कारबाही तथा असुल उपर गरिने चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्