बाढीपीडित बालबालिकाले अझै पुस्तक पाएनन्



कुमार श्रेष्ठ, बाँके । गत साउनमा आएको बाढीले पुस्तक बगाएका बालबालिकाले अझै पुस्तक पाउन सकेका छैनन् । शिक्षा मन्त्रालयले समयमा पैसा नपठाइदिंदा पाँच महिनादेखि बाढीपीडित बालबालिका पुस्तक बिना नै पढिरहेका छन् ।
साउनको अन्तिममा आएको बाढीले बाँकेका १४ हजार २ सय ५६ जना बालबालिका प्रभावित भएका थिए । तीमध्ये सात हजार पाँच सयको पाठ्यपुस्तक बगाएको छ । तथ्यांक संकलन, पैसा माग्ने र पठाउने सरकारी ढिलासुस्तीले गर्दा बाढीपीडित बालबालिका पुस्तकबिना नै पढ्न बाध्य भएका हुन् ।
जिल्ला शिक्षा कार्यालय, बाँकेले बाढीपीडित बालबालिकाका लागि पुस्तक किन्न २७ लाख रुपैया माग गरेको छ । कार्यालयले पुस्तकसँगै पोशाक, स्टेशनरी र झोला पनि वितरण गर्ने रणनीति बनाएको छ । पोशाक, स्टेशनरी र झोलाका लागि संघ संस्थाहरुसँग सहयोग मागिएको छ । जिल्ला शिक्षा कार्यालय, बाँकेका विद्यालय निरीक्षक एवं डुडुवा गाउँपालिकाका शाखा अधिकृत खगेन्द्र मल्लले विभागले पैसा दिने निर्णय गरिसकेको खबर आएको बताउनुभयो । ‘पैसा निकासा भएको खबर आएको छ । अब छिट्टै मगाएर वितरणतिर लाग्छौं, मल्लले भन्नुभयो, बाँकेको डुडुवा गाउँपालिकाले पनि ३० लाख निकासा गरेको छ ।’
झोला, पोशाक र स्टेशनरी किन्ने पैसा भने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले दिने बाचा गरेका छन् । सेभ द चिल्ड्रेन, युनिसेफ, रेरी, नेपालगञ्ज साइकिलिङ क्लवलगायतले झोला, पोशाक र स्टेशनरी किन्न सहयोग गर्ने बताएका छन् । पुस्तक किन्ने भनिएको २७ लाख रुपैया सरकारले पठाउन ढिला गरेकाले काम रोकिएको छ ।
जिल्ला शिक्षा अधिकारीले यसअघि मंसीर २५ गते बाढीपीडित विद्यार्थीलाई पुस्तक वितरण गर्ने निर्णय गरेको थियो । केन्द्रबाट पैसा नआउदा समय लम्बिएको छ ।
बाढीले किताव बगाएकाहरु कोही कापीमात्रै लिएर स्कूल गइरहेका छन् भने केहीले पुस्तक किनिसकेका छन् । पुस्तक किनेकालाई पुस्तक बराबरको पैसा दिने तयारी भएको छ ।
साउन २७ गते रातीदेखि परेको अबिरल वर्षाले बाँकेमा ठूलो क्षति पु¥याएको थियो । बाढीबाट १६ हजार ८ सय ८ घरधुरीका ९६ हजार २ जना प्रभावित भएका थिए । बाढीबाट जिल्लामा आठ जनाको मृत्यु भएको थियो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार, १६ हजार ८ सय ८ मध्ये एक हजार ७१ पूर्ण र १५ हजार ७ सय ३७ घर आंशिक क्षति भएका छन् ।
बाढीपीडितहरु अहिले पनि सामुदायिक वनको छेउमा टहरा बनाएर बसेका छन् । जंगल किनारमा बसेका बाढीपीडित बालबालिकाहरु धेरै स्कूल गएका छैनन् । ‘किताव, कापी पनि छैन, स्कूल पनि टाढा परेको छ, बालबालिका स्कूल गएका छैनन्, जंगल किनारमा बसेका अभिभावकहरु बताउँछन् ।
राप्ती तटीय क्षेत्रका हजारौं बासिन्दा वर्षेनी यसरी बाढीबाट प्रभावित हुन्छन् । बालबालिका अझ बढी असर पर्ने गर्दछ । सरकारी निकायले त्यस्ता बालबालिकालाई छिटो भन्दा छिटो पढ्ने वातावरण मिलाउन सकेको छैन । बाढीपीडितको समस्याका बारेमा आसन्न चुनावमा भने सबैजसो दलले आफ्नो प्रतिबद्धतामा समेट्ने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्