शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थीलाई ‘कानुन र संविधान’



काभ्रे (नेस) । जिल्लाको विकट मानिने रोशी गाउँपालिकाको वडा नम्बर १ मा रहेको जनचेतना माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकलाई कानुन सम्वन्धी सामानय ज्ञान र संविधानका मौलिक हक र अधिकारका बारेमा जानकारी गराएको छ ।
शैक्षिक भ्रमणमा निस्किएको शिक्षक र विद्यार्थीहरुको समुहलाई राजधानी काठमाडौमा बरिष्ठ अभिबक्ता शम्भु थापाले संवैधानिक हक र अधिकार, शिक्षक विद्यार्थीहरुले बुझ्नु पर्ने र बुझाउनै पर्ने ऐन कानुनका बारेमा जानकारी गराएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका समाजसेवी अमित लामाले जानकारी गराए । ‘विद्यार्थी र शिक्षक दुबैलाई कानुनका बारेमा ज्ञान हुन सकेको खण्डमा अभिभावक र समाजमा त्यसको कार्यान्वयन गराउन सकिन्छ’–अध्यक्ष लामाले भने–‘सोहि उदेश्यले शैक्षिक भ्रमणमा निस्किएको समुहलाई दुई घण्टाको कार्यमुलक प्रशिक्षणात्मक कक्षा लिएको हो ।’
थापाले शिक्षक समाजको ऐना भएकाले उसले संविधानका हरेक विषयमा चासो राख्नु पर्ने र त्यहि कानुन र संविधानका विषयमा समाजका हरेक क्षेत्रका नागरिक र विद्यार्थीहरुलाई समेत सचेत गराउनु पर्ने बताए । नयाँ संविधानले प्रदान गरेका नागरिकहरुका हक अधिकारहरुका बारेमा थापाले संक्षिप्तमा ब्याख्यात्मक जानकारी गराएका थिए । विद्यार्थीहरुको पढ्न पाउने मौलिक हकलाई राज्यले कसरी ग्योरेण्टी गरेको छ ? अभिभावक र शिक्षकहरुको भूमिका के हुन सक्छ ? थुप्रै विषयमा थापाले प्रष्ट बनाएको शिक्षकहरुले बताए ।
रोशी गाउँपालिकाको जनचेतना माध्यमिक विद्यालयमा गरिव अभिभावकहरुका छोराछोरीहरुको बाहुल्यता धेरै छ भने तामाङ समुदायका बालबालिकहरुले तामाङ भाषामै अध्ययन गर्न पाउनु पर्ने माग विद्यालय ब्यवस्थापन समिति समक्ष राख्दै आएका छन् । स्थानीय सरकारलाई शिक्षक ब्यवस्थापन, विद्यालयको एकिकरण वा थप आवश्यकता अनुसार नयाँ खोल्नु पर्ने लगायतको अधिकार प्रदान गरेको भए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्