क्लिंकर आयात रोकियो



कृष्णउदास खनाल, वीरगन्ज
वँतँवरणीय कारण देखाइ भारतीय रेलवेले रक्सौलका लागि क्लिंकरको लोडिङ अनिश्चितकालका लागि रोकेपछि नेपाली सिमेन्ट उद्योग मारमा परेका छन्। वीरगन्ज–रक्सौल नाका हुँदै भित्रिने सिमेन्टको कच्चा पदार्थका कारण प्रदूषण भएको भन्दै नाका बन्द गर्ने भारतीय सीमावर्ती शहर रक्सौलबासीको चेतावनीसहितको आन्दोलन चलिरहेका बेला रेलवेले शनिबारदेखि लोडिङ बन्द गरेको हो।

भारतीय रेलवेले यार्डको विकल्प दिन नसक्दा स्वदेशी आयातकर्तालाई मार परेको हो। भारतबाट क्लिंकर आयात बन्द भएपछि नेपालका सिमेन्ट उद्योगी प्रत्यक्ष मारमा परेपछि सिमेन्ट उद्योग लगभग बन्द हुने अवस्थामा पुगेको वीरगन्जस्थित त्रिशक्ति सिमेन्टका सञ्चालक सज्जन चाचानले बताउनुभयो। ‘क्लिंकर लोड तथा अनलोडको व्यवस्था मिलाउने काम रेलवेको हो। तर, समस्या समाधानमा उसको असफलताको मार हामीले भोग्नु न्यायोचित होइन।’ चाचानले भन्नुभयो।

क्लिंकर आयातमा समस्या देखिएपछि व्यवसायीले क्लिंकर लोडिङमा लगाइएको प्रतिबन्ध फुकुवा गराउन सरकारसमक्ष माग गरेका छन्। नारायणी सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सतीश चाचानले नेपाल सरकारले भारतसँग तत्काल पहल गर्नुपर्ने बताउनुभयो। ‘रेलवेका अधिकारीले जिम्मेवारी पन्छाउने कुरा गरेपछि आयातकर्तामा झन् अन्योल थपिएको छ।’ चाचानको भनाइ छ। सरकारीस्तरबाटै तत्काल प्रभावकारी प्रयास नहुने हो भने यो क्षेत्रका सिमेन्ट उद्योग समस्यामा पर्ने उहाँ दाबी गर्नुहुन्छ।

हाल बारा र पर्साका १३ ओटा सिमेन्ट उद्योगले यस नाकाबाट कच्चा पदार्थ आयात गर्छन्। नेपालका लागि आयात हुने क्लिङ्कर, कोइला, फ्लाइयास, जिप्सम, स्ल्याग, आइरन ओरलगायत धूलो उड्ने कार्गो लोडअनलोड हुँदा प्रदूषण बढेको भन्दै रक्सौलका बासिन्दाले लामो समयदेखि विरोध गर्दै आए पनि रेलवेले विकल्प खोज्न सकेको छैन। त्यसैको विरोध गर्दै उनीहरूले आफ्नो माग पूरा नभए सोमबारदेखि नाका बन्द गर्ने धम्की दिएका थिए। रक्सौलका बासिन्दाको मुख्य विरोध क्लिंकरमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्