रेमिटइन्स वृद्धिदर ऋणात्मक



काठमाडौं, (नेस)
नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स नेपाल भित्रिने क्रम घट्न थालेको छ। चालु आर्थिक वर्षको कात्तिकमा रेमिट्यान्स आप्रवाह पौने ५ अर्ब रुपियाँले घटेको हो। चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण आप्रवाह ४ अर्ब ८१ करोड रुपियाँ अर्थात् १ दशमलव ४ प्रतिशतले घट्दै २ खर्ब २८ अर्ब ९५ करोड रुपियाँमा झरेको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २ खर्ब ३२ अर्ब १४ करोड रुपियाँ रहेको थियो। अघिल्लो वर्षको सोही अवधिमा पनि रेमिट्यान्स ७ दशमलव ८ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकले जनाएको छ। श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चार महिनामा अघिल्लो वर्षको तुलनामा सोही अवधीको तुलनामा १ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ। साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमि आएको देखिन्छ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय शून्य दशमलव ३ प्रतिशतले घटी २ खर्ब ६४ अर्ब ५७ करोड रुपियाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ दशमलव ७ प्रतिशतले बढेको थियो।

घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिती) मा दबाब पुगेको राष्ट्र बैंकले जनाएको छ। यस अवधीमा शोधानान्तर बचत २ अर्ब ४० करोड रुपियाँ मात्रै रहेको छ।अघिल्लो वर्षको सोही अवधीमा शोधनान्तर बचत २१ अर्ब ९८ करोड रुपियाँ रहेको थियो। त्यस्तै अपघल्लो वर्षको चार महिनामा १ अर्ब ८६ करोड रुपियाँले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २५ अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्