क्याटालोनिया मध्यावधिमा पृथकतावादी पार्टीलाई बहुमत



बार्सिलोना, (एजेन्सी)
स्पेनबाट अलग्गिन चाहेको क्याटालोनियामा भएको मध्यावधि चुनावमा पृथकतावादी पार्टीहरूले बहुमत हासिल गरेका छन्। बिहीबार भएको मतदानमा ठूलो संख्यामा मतदाताहरूले भाग लिएका थिए।

करिब सबै मतको गणनापछि पृथकतावादी स्पष्ट बहुमतमा आउने प्रस्ट देखिएको छ। यसलाई स्पेनका प्रधानमन्त्री मेरियाना रजोयका लागि ठूलो झट्का मानिएको छ। बेल्जियमबाट बोल्दै स्वनिर्वासित क्याटालान पृथकतावादी नेता काल्र्स प्युजडिमोन्टले कसैले पनि चुनाव नतिजामा प्रश्न उठाउन नसक्ने बताएका छन्। क्याटालान रिपब्लिकले चुनाव जितेको उनले बताए।

चुनावको नतिजापछि स्पेनको केन्द्र सरकार र क्याटालन पृथकतावादी पार्टीबीच तनब बढ्न सक्ने अनुमान गरिएको छ। चुनावमा स्पेनबाट अलग्ग हुनेका समर्थक र स्पेनसँगै रहनेका समर्थक पार्टीबीच प्रतिस्पर्धा थियो।

यद्यपि स्पेनसँगै रहने नीतिका समर्थ सिटिजन्स पार्टीले संसद्मा सबैभन्दा धेरै सिट हासिल गरेको छ र नियमानुसार उसलाई नै सरकार बनाउन पहिलो अवसर मिल्ने सक्छ।
स्पेनले क्याटालोनियामा स्वतन्त्रताका लागि भएको जनमत संग्रहलाई अवैध ठहर्याउँदै अक्टोबरमा पृथकतावादी पार्टीको सरकारलाई निलम्बित गरेको थियो।

स्पेन महासंघ होइन, यो एक विकेन्द्रीकृत एकीकृत देश हो। स्पेनमा कुल १७ स्वायत्त क्षेत्र छन्, जसको फरक फरक झण्डा छन्। तीमध्ये एक क्याटालोनिया स्पेनका उत्तर–पूर्वस्थित एक समृद्ध क्षेत्र हो। क्याटालोनिया क्षेत्र स्पेनको सबैभन्दा समृद्ध तथा औद्योगीकरण भएको क्षेत्रमा पर्छ। क्याटालोनियाले आफूलाई स्पेनबाट अलग्ग सम्झनुको प्रमुख कारणमा उसको इतिहास, संस्कृति र भाषा हुन्, जसले उसलाई स्पेनभन्दा फरक बनाउँछ।

विशेष गरी स्पेनिस भाषाको समाानान्तर क्याटालन भाषा त्यहाँको अस्मिताको मुद्दा रहेको छ। यो भाषा स्पेनिससँग जति नजिक छ, त्यति नै दक्षिण फ्रान्सको अक्किटनजस्ता क्षेत्रीय भाषाको नजिक पनि छ।

प्रतिक्रिया दिनुहोस्